उपमेयरकाे सम्पति विवरण सतर्कता केन्द्र नपठाउने अधिकृत जागिरबाट निकाला

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका सूचना प्रविधि अधिकृत हेमन्त बोहोरा जागिरबाट निष्कासित भएका छन्। नगरपालिकाका उप–मेयर चन्द्राकुमारी बुढाको सम्पति बिवरणको फारम राष्ट्रिय सतर्कता केन्द्रमा नपठाएको भन्दै बोहोरालाई जागिरबाट निष्काशन गरिएको हो।

उनलाई राजनितिक र व्यक्तिगत विषयलाई जाेडेर जागिरबाट निकालिएकाे भन्दै नेकपा माओवादी केन्द्र नगर कमिटिले बोहोराको पुनः बहाली माग गरेकाे छ। माओवादीले आइतबार विज्ञप्ती जारी गरी उनलाई जागिरबाट निकाल्ने प्रमुख प्रशासकीय अधिकृतलाई कारवाहीको माग समेत  गरेकाे छ। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले पटक–पटक जागिरबाट निकाल्ने गरेको र जनप्रतिनिधिको दबाबमा फेरि पुनः बहाली गर्ने गरेकोमा यसपटक आफ्नो जिम्मेवारी पूरा गरिरहेका कर्मचारीलाई बिना कारण जागिरबाट निकालिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

कर्मचारी बोहोरालाई जागिरबाट निकालिएको बिषयलाई लिएर माओवादी केन्द्रले नगरपालिकाको मुख्य ढोकामा ताला समेत लगाएको छ। यदि आफूहरुको माग पूरा नगरे निरन्तर आन्दोलन गर्नुका साथै नगरपालिकाको सम्पूर्ण काम ठप्प पार्ने विज्ञप्ती मार्फत् चेतावनी समेत दिइएको छ।

यता प्रमुख प्रशासकीय अधिकृत गिरीले कार्यवाहक मेयर बुढाले निर्देशन दिएपछि जागिरबाट निकालेको बताएकाछन्।

'उप–प्रमुख बुढाको सम्पति बिवरण फारम केही कर्मचारीको मिलमतोमा सुनियोजित रुपमा नबुझाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रू. पाँच हजारकाे जरिवाना पत्र आयो, त्यसपछि उप–प्रमुख बुढा रिसाएर जागिरबाट तुरुन्त निकाल्न भनेपछि आफूले निकालेको हुँ' गिरीले बिएल नेपाली सेवासँग भने। 

बाेहाेरालाई १० दिनकाे लागि निलम्बन गरिएको र  राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जरिवाना फुकुवा गरेर ल्याए पुनः बहाली गर्न सकिने बताए। 

नगरप्रमुखले निर्देशन दिएको खण्डमा आफू कर्मचारहरुलाई कारवाही गर्न बाध्य हुने गिरीको भनाई छ। माओवादीले लगाएको ताला प्रहरीकाे सहयाेगमा खाेल्ने गिरीले बताए।

माओवादी केन्द्र नगर कमिटीले जारी गरेकाे विज्ञप्तीः

 

प्रकाशित मिति: : 2021-09-19 19:42:00

प्रतिकृया दिनुहोस्