ओमानमाथि नेपालको फराकिलो जित

Photo - CAN
Photo - CAN

ब्याटिङ-बलिङ दुवै पक्षमा बलियो प्रदर्शन गरेको नेपालले विश्व कप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आइतबार ओमानलाई ७ विकेटले पराजित गरेको छ।

अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो। ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा ग-याे।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले। लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले यस अघि अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए।

यस्तै ओपनर आसिफ शेखले ४० रन जोडे।  शरद भेषवाकर १ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६/६ रनमा आउट भए। ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए। यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए।

सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे। सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए।

कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए। ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए। शरद भेषवाकरले २ विकेट लिए। यस जितसँगै नेपालले सिरिजमा सुखद अन्त्य गरेको छ। सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोर्यो।

सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो। तर, दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो। यस जितपछि नेपालले ओमानविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ।

प्रकाशित मिति: : 2021-09-19 21:09:00

प्रतिकृया दिनुहोस्