चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ। कोरोना महामारीका कारण जनस्तरबाट पर्याप्त आर्थिक सहयोग संकलन हुन नसक्दा रंगशालाको काम नै ठप्प बन्न पुगेको हाे। रंगशालाको लागि कबोल गरेको रकमसमेत उठ्न सकेको छैन।
कुनै बेला दिनमै २ सय १७ जना कामदारले काम गर्ने गरेकोमा अहिले ५/६ जनाले मैदानमा लगाइएको दुबोमा पानी हाल्ने र गोडमेल गर्ने काम मात्रै गरिरहेका छन्। गएको जेठदेखि रंगशालाको आर्थिक स्राेत जुट्न ठप्प बनेको छ। जनस्तरबाट सहयोग जुटाएर रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेशनले सरकारको सहयोगको आवश्यकता परेको जनाएको छ।
आर्थिक सहयोग गरिदिन भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) केही दिनअघि काठमाडौं पुगेर नेता र मन्त्रीहरूसँग भेटघाट गरिरहेका छन्। रंगशाला निर्माणको काम ३५ प्रतिशत सकिएको धुर्मुसले बताए। आर्थिक सहयोग जुट्न नसकेपछि १५ साउनदेखि निर्माण कार्य अघि बढ्न नसकेको उनले जानकारी दिए।
‘आर्थिक अभावका कारण रंगशालाको काम प्रभावित भएपछि सरकारलाई जानकारी गराएका छौं। सकरात्मक प्रतिक्रिया आएको छ’, उनले भने। निर्माण सम्पन्न भएपछि भरतपुर महानगरलाई नै हस्तान्तरण गरिने भएकाले सरकारसँग आर्थिक सहयोग मागिएको उनले बताए।
करिब ३ अर्ब अनुमानित लागत रहेको रंगशाला निर्माणमा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भएको छ। जसमध्ये १६ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको काम उधारोमा भएको रंगशाला निर्माण परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाले बताए। फाउण्डेशनले निर्माण सामग्री खरिद र कामदारलाई उधारोमा काममा लगाएर रंगशालाको निर्माण गर्दै आएको हो।
तिर्न बाँकी रकम १६ करोड नाघेपछि निर्माण कार्य ठप्प बनेको उनले बताए। महायज्ञमा कबोल भएको रकम पनि उठ्न नसकेकाे तिमिल्सिनाले बताए।रंगशाला निर्माण सहयोगार्थ २०७६ माघमा महायज्ञको आयोजना गरिएको थियो। त्यतिबेला थुप्रै व्यक्तिले महायज्ञमा आफ्नो नाम सार्वजनिक हुने र प्रचार हुने मोहले आर्थिक सहयोग गर्ने कबोल गरे। अझैसम्म पनि कबोल गरेको रकम नदिएकाे फाउण्डेसनले जनाएकाे छ।
महायज्ञमा जिन्सी, बोलकबोल र नगदसहित ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता भएको थियो। सरकारी निकायले दिएको बाहेक जम्मा ९ करोड २५ लाख ५९ हजार रुपैयाँ कबोल रकम उठेको तिमिल्सिनाले बताए। सरकारी निकायले मात्रै ५१ करोड १२ लाख ३० हजार ८३२ रूपैयाँ सहयोग गर्ने बताएका थिए।
भरतपुर–१५ मा निर्माण भइरहेको रंगशालालाई भरतपुर महानगरले नै कबोल गरेको रकम दिएको छैन। महानगरले १६ करोड रुपैयाँ दिने कबोल गरेकोमा हालसम्म जम्मा ८ करोड मात्रै दिएको तिमिल्सिनाले जानकारी दिए। भरतपुर–१३ को वडा कार्यालयले ५ लाख रुपैयाँ दिएको छ। बागमती प्रदेश सरकारले पनि कबोल गरेको रकम अझै दिएको छैन। उसले ३० करोड कबोल गरेकोमा जम्मा ३ करोड मात्रै दिएको छ।
कबोल गरेको रकम नदिनेमा वर्तमान स्वास्थ्य राज्यमन्त्रीदेखि व्यावसायीक संस्थासम्म रहेका छन्। वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफुले कबोल गरेको ११ लाख ५१ हजार रुपैयाँ दिएका छैनन्। त्यस्तै, संघीय सांसद उमा रेग्मीले २० हजार, बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले २ लाख १ हजार, बलराम पौडेलले ५५ हजार, अन्जनी श्रेष्ठले ५१ हजार र रिना गुरुङले ५० हजार रुपैयाँ कबोल रकम अझै दिएका छैनन्।
स्थानीय तहले दिएनन् कबोल रकम
जिल्ला समन्वय समिति चितवनलगायत जिल्लाका स्थानीय तहलेसमेत कबोल रकम दिएका छैनन्। जिससले २ करोड २२ लाख रुपैयाँ दिने कबोल गरेकोमा अहिलेसम्म जम्मा ५० लाख ९२ हजार रुपैयाँ मात्रै दिएको छ। माडी नगरपालिकाले ३० लाख कबोल गरेकोमा एक पैसा पनि दिएको छैन।
त्यसैगरी, रत्ननगर नगरपालिकाले १७ लाख कबोल गरेकोमा ९ लाख ८५ हजार रुपैयाँ मात्रै दिएको छ। राप्ती नगरपालिकाले ९ लाख कबोल गरेकोमा ५ लाख दिइसकेको छ। बाँकी ४ लाख रुपैयाँ स्थानीय व्यापारीहरूबाट संकलन गरेर दिने भनेकोमा अहिलेसम्म दिएको छैन।
आफ्नै जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशालाको लागि खैरहनी नगरपालिकाले न कबोल गर्यो न आर्थिक सहयोग नै। कालिका नगरपालिकाले कबोल गरेको १५ लाख ५५ हजार र इच्छाकामना गाउँपालिकाले कबोल गरेको ११ लाख ११ हजार रुपैयाँ पुरै दिइसकेका छन्। जिल्ला समन्वय महासंघले कबोल गरेको ७७ लाख रुपैयाँ पनि अझै प्राप्त नभएको तिमिल्सिनाले बताए।
व्यवसायीका संस्थाले पनि दिएनन्
व्यवसायीहरूका छाता संस्थाहरूले पनि महायज्ञमा कबोल गरेको रकम दिएका छैनन्। एलपी ग्यास उद्योगले कबोल गरेको १ करोड, निर्माण व्यवसायी संघ चितवनले कबोल गरेको २० लाख रुपैयाँ रंगशालाले पाएको छैन।
नेपाल पोल्ट्री महासंघले १ करोड कबोल गरेकोमा ४० लाख ५० हजार दिएको छ। बाँकी ५९ लाख ५० हजार रुपैयाँ अझै दिएको छैन। पुरानो मेडिकल कलेजका सञ्चालक प्राडा भीमप्रसाद नटराजले कबोल गरेको २० लाख रुपैयाँ दिएका छैनन्। चितवन मेडिकल कलेजले ५० लाखको प्राथमिक उपचार गराउन मिल्ने भवन निर्माण गरिदिने बताएको थियो। त्यसको पनि काम भएको छैन।
३० हजार दर्शक अट्ने क्षमताको निर्माणाधीन रंगशालाको मुख्य मैदान र तीन हजार दर्शक अट्ने प्याराफिट तयार भइसकेको छ। मैदानमा पिच निर्माण गर्न बाँकी छ। मुख्य मैदानको छेउमा नमुना मैदान पनि बनाइएको छ। नमुना मैदानमा क्रिकेट प्रतियोगिता हुँदै आएकोमा कोरोना महामारीका कारण रोकिएको छ। नमुना क्रिकेट मैदानमा खेल हुँदा त्यसबाट पनि फाउण्डेशनले आर्थिक संकलन गर्दै आएको थियो।कुलप्रसाद काफ्ले/न्युज कारखाना