उपमेयर कप : एक क्लबले चार विभागीय खेलाडी लिन पाउने

न्युज कारखाना
न्युज कारखाना

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका तीन क्लबसहित विभागीय टोलीलाई सिधै प्रवेश दिँदा उपमेयर कपमा एक क्लबले विभागीय टोलीका चार खेलाडीसमेत राख्न पाउने प्रावधान बनाएको छ।

एन्फाले यसपटक आयोजना हुने राष्ट्रिय महिला लिग-२०७८ का लागि पहिलो संस्करणमा मोफसलका र विभागीय गरी ६ क्लबलाई सिधै प्रवेश दिँदै आगामी उपमेयर लिगमा सहभागी क्लबले विभागीय टोलीका चार खेलाडीले एक क्लबबाट खेलाउन पाउने नियम ल्याएको हो।

उपमेयर कप-२०७८ राष्ट्रिय महिला लिग प्रतियोगिता नियमावलीमा विभागीय तीन र मोफसलका तीन गरी ६ क्लबले सधै राष्ट्रिय लिगमा सहभागी पाउने बताइएको छ। यस्तै उपमेयर कपमा सहभागी क्लबले चार विभागीय खेलाडीसमेत राख्न पाउने नियम बनाइएको छ।

एन्फाले आयोजना गर्ने ‘उपमेयर कप २०७८ राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता’ ४ कात्तिकबाट सुरु हुँदैछ । राष्ट्रिय लिगको मिति भने तय गरिएको छैन।

एन्फाले राष्ट्रिय लिगमा यसअघि तीन विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लब) र मोफसलका वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहटलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको हो।

गत वर्ष राष्ट्रिय लिगमा खराब प्रदर्शन गरेको चौदण्डीगढी नगरपालिका उदयपुरले भने यसपटक सहभागी भए छनोट खेल खेल्नुपर्ने हुन्छ। चौदण्डीगढी गत लिगमा १२ खेल खेल्दा अंकविहीन भएको थियो। चौदण्डीगढीले महिला लिगमा चार गोल गर्दा १०६ गोल ब्यहोरेको थियो।

प्रतियोगिता नियमावलीको परिक्षेद नम्बर २ को नियम (६) अन्तर्गत खेलाडी दर्ताको ५ नम्बर बुँदामा भनिएको छ। ‘टिमहरूले यस प्रतियोगतामा बढीमा चारजनासम्म विभागका खेलाडीहरू दर्ता गराई खेलाउन पाउने छन्। उक्त खेलाडीहरू दर्ता गर्दा विभागसँग आवश्यक स्वीकृति लिई खेलाडीसँग करार भएको हुनुपर्नेछ र सो कागजातहरू दर्ता फारामसँगै पेस गर्नुपर्नेछ।’

यस्तै, नियमावलीमा छनोट भएका दुई टिमका खेलाडीले राष्ट्रिय लिगमा सोही क्लबबाट खेल्नुपर्ने र विभागबाट आएका खेलाडीको हकमा भने विभागीय खेलाडी क्लबमा फर्कन पाउने बताएको छ।

‘यस प्रतियोगिताबाट छनोट भएका दुई टिममा दर्ता भएका खेलाडीहरू राष्ट्रिय महिला लिग २०७८ मा पनि सो टिमहरूमा यथावत् हुनुपर्नेछ। छनोट भएका टिममा दर्ता भएका विभागीय खेलाडीहरू भने विभागसँग स्वीकृति भएबमोजिम सो टिमबाट सहभागी हुन सक्ने वा पुनः विभागबाट सहभागी हुन सक्नेछन्। साथै राष्ट्रिय महिला लिगमा नियमावलीअनुसार थप खेलाडी दर्ता गर्न पाइनेछ,’ नियमावलीमा भनिएको छ।

प्रकाशित मिति: : 2021-09-20 12:50:00

प्रतिकृया दिनुहोस्