प्रधानमन्त्री देउवाले मन्त्री छान्न धाँधली गरेः पौडेल समूह

तेजन खड्का

काठमाडौँ
फाइल तस्वीर
फाइल तस्वीर

नेपाली काँग्रेसभित्रको संस्थापनइतर समूहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले डा. नारायण खड्कालाई पार्टीभित्र कुनै छलफल नै नगरी मन्त्री बनाइएको भन्दै आपत्ति जनाएको छ।

महामन्त्री डा शशाङ्क कोइरालाको निवास महाराजगन्जमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले सभापति देउवाले मन्त्री छान्न र महाधिवेशनअन्तर्गत वडा अधिवेशनको प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्यतामा मनोमानी गरेको आरोप लगाएको हो। सो समूहले मन्त्रिपरिषद् विस्तार गर्दा  मनोमानी गरेको आरोप लगाएको छ।

‘पार्टीभित्र कुनै छलफल नै नगरी मन्त्री बनाइन्छ। वडा अधिवेशन तथा क्रियाशील सदस्यताको विषयमा पनि हाम्रो प्रस्ट विमति हुँदाहुँदै कुनै परामर्श गरिएको छैन। यो राम्रो सङ्केत होइन। काँग्रेसभित्र यस्तो चल्न दिँदैनौँ,’ बैठकमा सहभागी एक नेताले बिएल नेपाली सेवालाई भने। 
प्रधानमन्त्री देउवाले काँग्रेसका आफू पक्षका नेताहरूलाई मात्रै मन्त्री बनाएका छन्। प्रधानमन्त्री देउवा, तीन जना मन्त्री र एक राज्यमन्त्री आफूनिकटलाई मात्र बनाएका छन्। पौडेल नेतृत्वको संस्थापनइतर पक्षका कोही पनि मन्त्री भएका छैनन्। 
पौडेल नेतृत्वको समूहले मन्त्रिपरिषद् विस्तारमा पार्टीभित्र छलफल नगरेको र वडा अधिवेशन तथा क्रियाशील सदस्यताको विषयमा पनि आफ्नो समूहको विमति हुँदाहुँदै कुनै परामर्श नगरिएको भनेको हो। 

बैठकमा देउवाको कार्यशैलीलाई लिएर अधिकांश नेताले आक्रोश पोखेका छन्। उनीहरूले पदाधिकारी बैठकमा एक भएर प्रस्तुत हुने निष्कर्षसमेत निकालेका छन्। बैठकमा डडेलधुरा वडा अधिवेशनका विषयमा असहमति हुँदाहुँदै एकतर्फी रूपमा अधिवेशन गरिएको बारेमा समेत नेताहरूले धारणा राखेका थिए। 
यसै गरी पुनः १३ जिल्लामा अधिवेशन नभएको निहुँमा सबै तहका अधिवेशनमा मनोमानी गर्न खोजिएको भन्दै सो समूहले त्यसको प्रतिवाद गर्ने जनाएको छ। १३ जिल्लाको क्रियाशील सदस्यताका सम्बन्धमा संस्थापन पक्षले नै किचलो गरेको पौडेल पक्षको आरोप छ। 
सरकारमा काँग्रेसका तर्फबाट अहिलेसम्म तीन मन्त्री र एक राज्यमन्त्री गरी चार मन्त्री छन्। बुधबारैमात्र डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाइएको हो।

प्रकाशित मिति: : 2021-09-22 19:49:00

प्रतिकृया दिनुहोस्