अर्धनग्न भेटिएकी बस्नेतको अनुसन्धानमा अझै भेटिएन बलियो प्रमाण

गत असार महिनाको अन्तिममा मृत भेटिएकी बिर्तामोड–५ कि सिर्जना बस्नेतको अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ। प्रहरीले बलियो प्रमाण फेला नपारेसम्म घटनाबारे बोल्न नसकिने जनाएको छ।

२५ वर्षीया युवती बस्नेतको सुगम पेट्रोल पम्प उत्तरमा अर्धनग्न अवस्थामा शव फेला परेको थियो। डेरा बसेको घर मुनी बस्नेत फेला परेकी थिइन्।

चौथो तलमा बस्ने बस्नेतको शव अर्धनग्न अवस्थामा भुईमा भेटिएको थियो। उनको हत्या हुन सक्ने आशंकामा सोही अनुसार अनुसन्धान गरिएको प्रहरीको भनाई छ। झापाका प्रहरीका प्रवक्ता राकेश थापाले अहिलेसम्म सो घटनाको बलियो प्रमाण फेला नपरेको बताए।

उनले भने, 'प्रमाण फेला नपरेसम्म अनुसन्धान चलिरहन्छ। प्रवक्ता थापाले भने, यहिसम्मको अनुसन्धानमा भेटिएको कुरा भनौला, फेरि अनुसन्धान गर्ने क्रममा अर्को विषय भेटिन सक्छ। त्यसैले अनुसन्धान नसकिएसम्म यसै भन्न सकिदैन।'

बस्नेतको घटनामा झापा प्रहरी र प्रदेश प्रहरीले पहिलो चरणमा अनुसन्धान गरेको थियो भने दोस्रो चरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले अनुसन्धान गरेको झापा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाहिर आएजस्तो परीक्षणका क्रममा पुष्टि भएको छैन। शव फेला पर्न साथ बलात्कार पछि हत्या भएको आशंका गरिएको थियो।

'परीक्षणमा बलात्कार भएको पाइदैन। ‘रेप पनि भएको छैन, कोहि मान्छे प्रवेश गरेको पनि पाइदैन। घरभित्र कोहि कसैसँग विवाद भएको पनि भेटिएन,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

उनको मृत्यु कसरी भयो भन्ने अझै रहस्यमय बनेको छ। बस्नेत छतको गारोमा बस्दा अन्जानमा खसेको हो कि भन्ने आँकलन समेत गर्न थालिएको छ।

प्रकाशित मिति: : 2021-09-23 09:56:00

प्रतिकृया दिनुहोस्