एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ। नेपाल भलिबल संघको आयोजनामा हुने छैटौं संस्करणको एनभीए च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ।
च्याम्पियनसिपमा पहिलो दिनबाट पुरुषतर्फका खेल हुँदा महिला तर्फका खेल मंगलबारबाट मात्रै खेल हुनेछन्। पहिलो दिन पुरुषतर्फको चार खेल हुनेछन्।
प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता छ। उद्घाटन खेलमा पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। समूह 'सी'मा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ।
दोस्रो खेलमा समूह 'डी'को एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बिहान ११ बजे सुरु हुनेछ।
तेस्रो खेलमा समूह 'ए'को बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। चौथो तथा दिनको अन्तिम खेलमा नेपाल पुलिस क्लबले दावाली मिलन क्लबको सामना गर्नेछ।
प्रतियोगितामा पुरुषतर्फ १२ र महिला तर्फ ८ गरी कुल २० टोलीको सहभागिता छ। क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने एनभीए क्लब लिगमा स्थान बनाउने छन्।
विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन्। तेस्रोले १ लाख प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन्।