धानमा दाना नलागेपछि चिन्तामा डोल्पाली कृषक, खेतमै जलाउने तयारी

डोल्पाको दुई स्थानीय तहमा लगाइएको धान बालीमा दाना नलागेपछि कृषकहरु चिन्तित बनेका छन्।

ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बाली भित्र्याउने समयमा दाना नभएपछि कृषकहरु चिन्तित बनेका हुन्।

परम्परागत रुपमा लगाउँदै आएको स्थानीय जातको धानमा दाना नलाग्ने समस्या देखिएको कृषकहरुको भनाई छ।

धान बालीको सम्भावना रहेको ठुलीभेरी नगरपालिका वडा नं ९ मा पर्ने मोतिपुर,डाँगीबाडालगायतका गाउँ बस्तीमा लगाइएको स्थानीय जातको धानमा यस्तो समस्या देखिएको मोतिपुरका कृषकहरुल बताए।

वडा नं ३ दुनैमा खेती गरिएको धान बालीमा पनि यस्तो समस्या देखिएको छ। मोतिपुरमा लगाइएको अन्य जातको धान राम्रो भएपनि स्थानीय जातको धानमा दाना पनि नलाग्ने र खुम्चिने समस्या देखिएको कृषक गम्मर कठायतले जानकारी दिए।

'धान लगाउने समयमा एउटै घरको बीसदेखि पच्चीस हजार खर्च हुन्छ। यस पटक मोतिपुराका झण्डै बीस घरधुरीले लगाएको धानमा दाना नै लागेको छैन्, कसरी बर्षभरी गुजारा गर्ने, ठुलो पिर परेको छ', कठायतले भने।

'धान भित्र्याएर नयाँ भात खाने समयमा एउटै घरको ४/५ रोपनीमा लगाइएको धानमा दाना छैन। अब के आशमा धान काटौँ, काट्न मिल्ने पनि छैन। खेतमै आगो लगाएर जलाउने सोचमा छौँ।'

अर्का कृषक बिजयाकुमारी कठायतकाे बीस हजार खर्च गरेर लगाएको ५/६ रोपनी खेतमा लगाइएको धानमा पनि दाना नलाग्ने समस्या देखिएको छ। अब बर्षभरी के खाने भन्ने चिन्ता बडेको कठायतले दुखेसो पोखिन्।

त्यसैगरी मोतिपुरकै विद्यादेबी कठायतको १५ रोपनी खेतमा लगाइएको धानबालीमा दाना लागेको छैन। 'रोपाईं गरेर गोडमेल गर्दासम्म खेतालाहरुको खर्चमात्रै चालीस हजारसम्म लाग्यो, काट्ने बेला धानमा दाना छैन। अब परिवार कसरी पाल्ने ठुलो चिन्ता परेको छ', कृषक कठायतले गुनासो गरिन्।

कुनै निकायबाट राहत नपाएमा कृषक भोकभोकै बस्नुपर्ने अवस्था आएको कठायतको भनाई छ।

त्रिपुरासुन्दरी नगरपालिकामा पनि समस्या
धानको पकेट क्षेत्रको रुपमा रहेको त्रिपुरासुन्दरी नगरपालिकामा पनि धानमा दाना नलाग्ने समस्यमा देखिएको छ। वडा नं १ मा पर्ने त्रिपुराकोट, गल्लीलगायतका ठाउँमा लगाइएको स्थानीय जातको धानमा दाना नलाग्ने समस्या देखिएको हो।

आफुले लगाएको सता वटा खेतमा लगाइएको धानमा बाला नलागेको कृषक यज्ञप्रसाद उपाध्यायले बताए। अघिल्लो बर्ष राम्रो उत्पादन हुने स्थानीय जातको धान यस पटक भने दाना नलाग्ने रोगले सखापनै पारेको उनले दुखेसो पोखे।

'लोपोन्मुख अवस्थामा रहेको स्थानीय जातको धानमै रोग लागेपछि बिउ नै मासिने चिन्ता त छँदैछ, ज्वरो आउँदा स्थानीयले औषधिको रुपमा समेत यो धान प्रयोग गर्छन्।मठ मन्दिरमा अक्षता यसैको प्रयोग हुन्छ। अब कसरी बर्षभरी आफूखाने, खेतालालाई दिने चिन्ताले पिरोलेको छ,' उपाध्यायले गुनासो गरे।

त्रिपुराकोटकै अर्का कृषक लक्ष्मी उपाध्यायको दुई वटा खेतमा लगाएको धानमा पनि यस्तै दाना नलाग्ने समस्या देखिएको छ।

ब्लास्ट रोग भएको दाबी
डोल्पामा पटक–पटक देखिँदै आएको यो रोग व्लास्ट रोग भएको कृषि प्राविधिक आदित्य न्यौपानेले जानकारी दिए। 'यो रोगका लागेमा धानमा बाला लाग्दैन, लागेका दाना पनि सुक्ने गर्छ, काट्नै नमिल्ने गरी धान खुम्चिन्छ', न्यौपानेले भने।

'यो बिउबाट सर्ने रोग रोग हो, तापक्रम नमिल्दा धानमा यस्तो रोग देखिन्छ', उनले थपे।

कृषकको पिरमर्का बुझ्न कोही आएनन्
डोल्पामा कति क्षेत्रफलमा लगाइएको धान बालीमा दाना नलाग्ने समस्या देखिएको हो एकिन तथ्याङ्क संकलन गरिएको छैन।

कृषि र कृषकहरुसँग प्रत्यक्ष जोडिने निकायका रुपमा रहेका कृषि विकास कार्यालय र स्थानीय तहका कृषि शाखाले यकिन तथ्याङ्क नलिएका हुन्।

आफुहरुले धान देखिएको समस्याका बारेमा जानकारी गराउँदा पनि कृषकको पिरमर्का बुझ्न कुनै निकायकाबाट प्राविधिकहरु नआएको मोतिपुरका कृषकहरुले गुनासो गरे।

सम्बन्धित क्षेत्रमा स्थलगत अनुगमन गरी क्षतिका आधार राहत उपलब्ध गराइदिन कृषि विकास कार्यालय र ठुलीभेरी नगरपालिका कृषि शाखालाई कृषकहरुले आग्रह गरे।

एकिन तथ्याङ्क लिइएको छैनः कृषि विकास कार्यालयलय
धान बालीमा देखिएको समस्याका बिषयमा दुनैका कृषकहरु कृषि विकास कार्यालयलाई जानकारी गराएपछि अनुगमन गरेको कार्यालय प्रमुख शरद लामाले जानकारी दिए।

दुनैका कृषकले जानकारी गराएपनि अन्य ठाउँका कृषकबाट गुनासो नआएको लामाको भनाई छ। 'भित्रयाउने समयमा धानमा दाना नलागेको बिषयमा कृषकहरुबाट जानकारी पाएका छौँ। अनुगम गर्दा ब्लास्ट रोग जस्तो देखिएको छ तर यहि नै रोग भनेर एकिन गर्न सकिएको छैन, कति धान बालीमा क्षति भयो त्यो पनि तथ्याङ्क निकालेका छैनौ', लामाले भने।

'कृषकहरुलाई सुरुमै कृषि विमा गर भनेपनि मानेनन्, अहिले कार्यालयसँग पैसा छैन। कसरी क्षतिपुर्ति दिने, अब क्षति भएको सबैको तथ्याङ्क निकालेर राहतका लागि संघ र प्रदेश पठाउँ छौ', लामाले थपे।

प्रकाशित मिति: : 2021-09-27 14:08:00

प्रतिकृया दिनुहोस्