ओलीज्यू! सभामुखलाई धम्की दिने कस्तो संसदीय मर्यादा हो?

शब्द नचपाई लेख्नुपर्दा– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली र उनी समर्थक हर्ताकर्ताहरूको कारण नेपाली राजनीति पछिल्लो समय दुषित भइरहेको छ। सामान्य अवस्थामा नहुनुपर्ने/नगर्नुपर्ने काम गरियो। तर त्यस्तो नगरी नहुने अवस्थाको सर्जक उनै ओली, उनको सत्ता मोह र अविवेकी निर्णयहरू नै हुन्।

पछिल्लोपटक देखिएका केहि राजनीतिक जटिलता र राजनीतिप्रति पैदा भइरहेको घृणाबारे पूर्वप्रधानमन्त्री ओली, उनको झुन्ड र संसदीय अभ्यासको नामका गरेका गलत गतिविधिलाई जानी–बुझी विरोध गर्न नसक्ने एमाले समर्थक भक्तजनहरू चिन्न निम्न तथ्य काफी छन्–

एकः ओलीको एकलकाटे शैली, हेपाह स्वभाव र मै सबथोक हुँ भन्ने प्रवृति जे–जसरी देखियो। यो नै उनको तत्कालीन नेकपा विभाजन गर्न बाध्य भएको तथ्य हो। नत्र तपाई नै पहिलो अध्यक्ष तपाई नै प्रधानमन्त्री भनेर तत्कालीन नेकपाको स्थायी समितिले गरेको निर्णयका बाबजुद सहमति सहकार्य छाडेर मनपरी गर्ने उनै ओली हैनन्?

दुईः पार्टीभित्र स्वतः अल्पमतमा परेको तथ्य ढाक्न तत्कालीन नेकपा हुँदा दुई अध्यक्षको सहमतिमा जे–पनि गर्न पाइन्छ? कथित पहिलो अध्यक्षको हस्ताक्षर नहुन्जेल पार्टीका बहुमत सदस्यले निर्णय गरेपनि ओली मान्न तयार भएनन्। बहुमतको निर्णय आफूले नमान्ने निकटमार्फत् प्रवाह गर्न लगाएको तथ्य जीवितै छ। सत्ताको आडमा स्वतन्त्र हुनुपर्ने संवैधानिक निकायलाई लाजलाग्दो गरी दुरूपयोग गर्ने उनै हुन्। 

तीनः पार्टीभित्र आफू अल्पमतमा पर्ने देखेपछि अन्य पार्टी विभाजनका लागि सहज हुने अध्यादेश ल्याउने संस्कार बसाउने उनै ओली हैनन्?  पार्टीभित्र सर्वत्र बहुमत गुमाउँदै गएपछि हठात् संसद बिघटन गर्ने पनि उनै।

जे–जसरी होस् दुई पार्टी मिलेर बनेको नेकपाको वैधता सर्वोच्च अदालतको आदेशमार्फत समाप्त भएपछि देशभर दीपावली गराउने ओली हुन्? आधा–आधा सत्ता र पार्टीको नेतृत्व सहमति गर्दा महान क्रान्तिकारी भनिएका प्रचण्ड लगायत तमाम माओवादीलाई नेकपामा विवाद हुँदैदेखि हत्यारा भन्दै उत्तेजना र आक्रोश फैलाउने ओली समूह नै हो? प्रचण्डहरू ज्यानमारा हुन्–भने उनैसँग सत्ताको सौदावाजी किन गरे? ज्यानमारासँग पार्टी एकता किन गरेको र फेरी आफूले सत्ता छोडनुपर्ने बेला एकता किन तोडेको? उत्तर नदिने पनि ओली नै हुन्?

चारः एमाले–माओवादी छुट्टाछुट्टै अस्तित्वमा आएपछि आफू असली एमाले र संस्थापकहरू माधव नेपाल, झलनाथ खनाललाई आगन्तुक ओली कस्तो एमाले हुन्? आफैलाई निर्वाचित गरेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई हठात् हटाउने, आफ्नो दास बन्न नचाहनेहरूको देशव्यापी मान/मर्दन गर्ने काम ओलीबाट भएको हो?

पाँचः एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई क्रियाशील पारौं भन्ने प्रस्ताव ओलीले मानेनन्। सत्ता जोगाउन बहुमत पुर्याउने  र माओवादी छाडेर एमाले  बनेका भगौडाहरूलाई समेत केन्द्रमा मनोनित गर्ने पनि उनै।

तीनै भगौडाहरू कुनैताका ज्यानमारा हुने अनि साँचो अर्थमा युद्धको नीति कार्यान्वयन गर्ने तत्कालिन लडाँकू भनिने हालका एमाले नेताहरू बुद्धका अनुयायी? यस्तो विरोधाभाषको सर्जक पनि ओली नै होइनन्?

छः एमाले एकतासमेत जोगाउन नसकेर संसदमा आफ्नै दलका सांसदहरुको समर्थन पाउन नसकी अल्पमतमा पर्दासमेत अनेकन दाउ गरी  सत्ता जोगाउने प्रयास अन्तिमसम्म नगरेका होइनन्। तर मर्यादित हुनुपर्ने राष्ट्रपति कार्यालयलाई समेत विवादित पार्ने तीनै ओली हैनन्, र? संसदमा आफ्नो बहुमत गुमेको घामजस्तै छर्लंग थियो। सत्य लुकाएर आफ्नो बहुमतको हल्ला फिजाउने गर्ने पनि उनै।

सातः जालझेलले सत्ता नटिक्ने भएपछि असंवैधानिक रुपमा दोश्रोपटक संसद विघटन गर्ने ओली नै हुन्? यदी संविधानको रक्षा गर्ने दायित्व बोकेको अदालतका न्यायधिशहरूको खुट्टा  काँपेको भए के आज तीनै झुटका बादशाह नै सत्तामा विराजमान हुने थिएनन्?

आठः आफूले असंवैधानिक रुपमा गरेको संसद विघटन बदर गर्ने र आफूले नक्कली आधार प्रस्तुत गर्दै गरेको सत्ताको दावी खारेज गर्ने कामसमेत अदालतबाट भएपछि गुट–रुपी दलको बैठक राखेर अदालतको निर्णय र न्यायमूर्तिविरुद्ध आरोप गर्ने ओली नै हैनन्?

नौः सत्यको वकालत गर्ने तत्कालीन एमालेका असली एमाले (अर्थात सिद्धान्तअनुसार व्यवहार गर्ने)लाई हुर्मत लिइँयो। यो वा त्यो नाममा कारवाही गरेर उनीहरूको राजनीति सिध्याउने काममा ओली नै लागे।

एमालेभित्र विद्रोह अनिवार्य थियो। ओलीले दुई–दुईपटक असंवैधानिक रुपमा गरेको संसद विघटनविरुद्ध सतिसाल झैं उभिएर संसद जोगाउनेलाई कानूनको छिद्र प्रयोग गरी संसद सदस्यको पदबाट हटाउने प्रयास गरियो। सत्ता जोगाउन वदनियत राखेर हिँड्न खोजेपछि ओली विचारलाई रोक्न बाध्यतामा दल विभाजन अध्यादेश ल्याउनुपरेको हो।

उल्लेखित कुनैपनि कुराहरू आरोप होइन। यी तथ्य हुन्। बरु सत्य के हो भने ओलीको अलोकतान्त्रिक, असंवैधानिक चरित्र वयान गर्ने अन्य थुप्रै घटना र प्रसंगहरू छन्। जुन समय क्रममा इतिहासकार, बौद्धिक जगतका दिग्गजहरूले अझै लिपिबद्ध हुनेछ। तथ्य पनि स्थापित नै थियो। 

ओली र उनी समर्थक संसददेखि आमसञ्चारसम्म लाजै पचाएर लागेको देख्दा चुप लाग्न पनि गाह्रो भो। अहिले केपी ओली गुटका हिमायतीहरू संविधान रक्षा, संवैधानिक सर्वोच्चता र संसदीय मर्यादाको चर्को वकालत गरिरहेका मात्रै छैनन्। उनीहरु सभामुखदेखि प्रधानन्यायधीशसम्मलाई संविधान सिकाइरहेका छन्। तर तथ्यले स्थापित गरिसकेको छ कि कुनै पनि बेला संवैधानिक सर्वोच्चता र कानूनी राजको पक्षपोशाक रहेको एमाले आज ओली गुटमा परिणत हुँदै भएको छ। ती सबै कुराको दुश्मन भैसकेको छ। 

अहिलेको एमाले, जो आफ्नै कर्मले आफ्नै प्रतिष्ठा घटाई रहेको छ। एमाले ठान्छ कि हामीले जे बोल्यो त्यही सत्य हो। जनताले त्यही पत्याउने छन्। त्यसैले आफूमाथि लागेको असंवैधानिक आरोप छोप्न आफैंले दुईपटक विघटन गरेको संसदमा दैनिक जान्छन् र भन्छन्– ‘संसदीय मर्यादा  कायम गर’, सम्मानित अदालतका माननीयहरुलाई गाली गर्छ अनि भन्छन्– ‘संवैधानिक सर्वोच्चता कायम गर।’ 

ओलीनिकटलाई लाग्दो हो कि– जनता इतिहासको व्यवहार  स्मरण गर्दैनन् केवल वर्तमानको शव्द मात्रै सत्य ठान्छन्। तर सत्य के हो भने जनताले सबै बुझ्छन्, त्यसको हिसाब–किताब राख्छन र निर्वाचनका बेला आफ्नो  बुझाई र निष्कर्षको प्रतिवेदन दिन्छन्। 

ओली एमालेलाइ तितो–लाग्ला। सत्य के हो भने आगामी चुनावमा उनीहरूले ओली एमालेको झुठ, फरेवी र दिखावाको राम्रै हिसाब गरिदिने छन्। त्यसो गर्दैगर्दा त्यसको प्रत्यक्ष लाभ कसलाई होला, त्यो अलग विषय हो। तर ओली एमाले जनताको अदालतमा दण्डित हुने पक्का छ।

प्रकाशित मिति: : 2021-09-28 20:43:00

प्रतिकृया दिनुहोस्