एनभीए भलिबल : फाइनल समीकरण पूरा 

File Photo
File Photo

एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ। 

शुक्रबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पुरुषतर्फको अन्तिम खेलमा आर्मी क्लब विजयी भएसँगै च्याम्पिनसिपको फाइनल समीकरण पूरा भएको हो। 

पुरुषतर्फको फाइनल खेलमा उपाधिका लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन्। 

प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्‍यो। राष्ट्रिय खेलाडीको बाहुल्य रहेको पुलिस क्लबलाई भारतीय राष्ट्रिय भलिबल टोलीका खेलाडी सम्मिलित हेल्प नेपालले सोझो सेटमा पराजित गरेको हो। 

भारतीय ओलम्पिक टोलीका कप्तान विनित कुमार (चौधरी)सहित तिन भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले नेपाल पुलिसलाई २५-१७, २५-१८ र २५-२१ को सोझो सेटमा पराजित गर्‍यो। 

यता, पुरुषतर्फको दोस्रो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३-० को सोझो सेटमै पराजित गर्‍यो। राष्ट्रिय खेलाडीको बाहुल्य रहेको आर्मीले एपीएफलाई २५-१७, २५-१७ र २५-१९ सेटमा पराजित गर्‍यो। आर्मीका मानबहादुर श्रेष्ठ, ईश्वर थापा, राजेन्द्र विष्टलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। 

यता, महिलातर्फको फाइनल खेलमा विभागीय एपीएफ र न्यु डायमण्ड क्लबबीच प्रतिस्पर्धा हुनेछ। बिहान भएको महिलातर्फको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो। यस्तै, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले लगातार च्याम्पियनसिपको फाइनलमा स्थान बनायो। 

दुवै फाइनल खेल र तेस्रो स्थानको खेल भोलि (शनिबार) हुनेछन्। 

प्रकाशित मिति: : 2021-10-01 21:21:00

प्रतिकृया दिनुहोस्