नक्कली नोटको कारोवार गर्ने ६ जना सार्वजनिक, मुख्य कारोवारी काठमाडौंबाट पक्राउ

फाइल तस्वीर
फाइल तस्वीर

धनकुटामा नक्कली नोटको कारोबार गर्ने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो।

सार्वजनिक हुनेमा धनकुटा नगरपालिका १ हिलेका वर्ष २६ का विशाल तामाङ, ताप्लेजुङको याङबरक गाउँपालिका ४ का वर्ष २६ कै छितेन तामाङ, धनकुटा नगरपालिका १ हिलेका वर्ष २४ का सोनम तामाङ, धनकुटाको महालक्ष्मी ८ का वर्ष २६ का सुमन खड्का, महालक्ष्मी ९ का वर्ष २४ का तुलसी तामाङ र वर्ष २१ विकास तामाङ रहेका छन्।

गत ११ गते धनकुटाको मुलघाट २८ हजार नक्कली नोटसहित प्रहरीले बिशाल तामाङ र छितेन तामाङ पक्राउ गरेपछि अनुसन्धान अघि बढाएको थियो। धनकुटा नगरपालिका ९ मुलघाटमा चेकजाँचका क्रममा प्रहरीले ति नोटसहित दुई जनालाई फेला पारेको थियो। सो पछि प्रहरीले अनुसन्धानको क्रममा बिशाल तामाङको घरबाट ५ हजार, विशालले नै मुलघाटमा फालेको २ हजार र सोनाम तामाङको घरबाट ६५ हजार नक्कली नोट बरामद गरेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए। सबै नोटमा एउटै नम्बरका रहेका छन्।

२ जनालाई मुलघाटबाट पक्राउ गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सोनाम र सुमनलाई धनकुटाको हिलेबाट, तुलसीलाई धनकुटाको सिधुवाबाट र विकासलाई सुनसरीको इटहरीबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरुले लागुऔषधको लागि नक्कली नोट प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेकाहरुलाई नक्कली नोटको प्रयोग गराउन लगाउने एक युवालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जनाएको छ। थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले ती युवालाई भने सार्वजनिक गरेको छैन।

सार्वजनिक भएका ६ जनालाई काठमाडौंबाट पक्राउ परेका युवाले २ लाख नक्कली नोट दिएको अनुसन्धानबाट खुलेको डिएसपी रायले बताए । त्यो २ लाखमध्ये १ लाख मुलघाट २ जना पक्राउ परेपछि ४ जनाले जोगिनको लागि नष्ट गरेको खुलेको छ। 

प्रकाशित मिति: : 2021-10-07 15:27:00

प्रतिकृया दिनुहोस्