गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पहिरोबाट ज्यान गुमाएका परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेका छन्। उनले आइतबार साँझ ७ बजेतिर रेसुंगा नगरपालिका-८ का तिलक परियारको घरमा पुगेर राहत प्रदान गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी पौडेल विपद् उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम सरकारबाट प्रदान गर्ने नगद चार लाख रुपैयाँ लिएर परियारको घरमै पुगेका थिए।
चाडपर्व नजिक परिवार गुमाएको पीडालाई केही भए पनि राज्यको तर्फबाट कम गर्न राहत बोकेर घरमै पुगेको पौडेलले बताए। उनले परिवारका आफन्त गुमाउँदाको स्वाभाविक पीडा हुने भए पनि जीवन जिउनको लागि भुल्नुको अर्को विकल्प नभएको बताए।
‘राहतले दुःखमा राज्यको अनुभूति दिलाउने काम मात्रै गर्छ,’ उनले भने,‘शोकलाई शक्तिमा बदल्नुपर्छ।’ सोही अवसरमा रेसुंगा नगरपालिका-८ का वडाध्यक्ष भरत भलामीले गुल्मी सेवा समाज जापानमार्फत प्राप्त २ लाख २८ हजार ५ सय २८ रुपैयाँ पीडित परिवारलाई प्रदान गरेका थिए। सो रकम जापानमा रहेका ७२ जना गुल्मेलीहरूले संकलन गरेर पठाएका थिए।
रकम हस्तान्तरण गर्दै भलामीले छिट्टै पहिरोले भत्किएको घरको पुनर्निमाणको काम गरिने जानकारी दिए। गत असोज ५ गते रातिको पहरोमा पुरिएर तिलक परियारका ३ छोरी १४ वर्षीया गंगा, जमुना र २१ वर्षीया भावना परियारको ज्यान गएको थियो।