एएफसी यू-२३ फुटबल : तयारी अभाव, कठिन प्रतिद्वन्द्वी

Photo : NK
Photo : NK

छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एकपटक ‘एएफसी यू-२३ एसियन कप २०२२ छनोट’ खेल्दैछ।

ताजकिस्तानमा हुने छनोटका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ।

नेपाली टोलीले एन्फा कम्प्लेक्समा एक महिनाको तयारी गर्दै ताजकिस्तान प्रस्थान गरेको हो। ताजकिस्तान प्रस्थान गरेको एक दिनअघि मात्रै प्रतियोगिता खेल्ने २३ खेलाडी होटलमा एकसाथ थिए। अर्थात् नेपालले एकैपटक आफ्नो अभ्यास सत्र बढाउन पाएन।

यू-२३ टोलीमा रहेका ६ खेलाडी राष्ट्रिय टोलीसँग साफ च्याम्पियनसिप खेल्न माल्दिभ्सको मालेमा थिए। पहिलो पटक साफ उपविजेता टोलीबाट ६ खेलाडी पाएको नेपाली टोलीले त्यसबाहेक पाँच राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी पाएको छ। नेपाली टोली यिनै खेलाडीको प्रदर्शनको आधारमा ताजकिस्तानमा राम्रो नजिता दिने लक्ष्यमा छ।

नेपालले समूह ‘बी’ मा एसियाको शीर्षस्थानमा रहेको इरानसँग ८ कात्तिकमा खेल्नेछ। इराक फिफा वरीयतामा २२औं स्थानमा छ।

दोस्रो प्रतिद्वन्द्वी ताजकिस्तान हो। फिफा वरीयतामा ११८औं स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ। लेबनान ९७औं स्थानमा छ। लेबनानसँग नेपालले १४ गते खेल्नेछ । नेपाल भने  १६८औं स्थानमा छ।

कठिन प्रतिद्वन्द्वी, तयारी अभावबीच प्रशिक्षक बालगोपाल महर्ज‍नसमेत कस्तो नतिजा आउने हो भन्न सक्ने अवस्थामा छैनन्। उनी सकेको राम्रो गर्नेमै ध्यान केन्द्रित हुने बताउँछन्। तर उनी ढुक्क छन्। ‘हाम्रो तयारी कम छ। प्रतिद्वन्द्वी एसियनस्तरभन्दा पनि युरोपेलीस्तरका पाएका छौं। सकेको राम्रो गर्छौ। यो टिमको लागि तयारी समय निकै छोटो छ। विगतको भन्दा धेरै तयारी गर्न पाएका छैनौं। मैले कम्तीमा तीन महिनाअघि अभ्यास गर्न र दुई मैत्रीपूर्ण खेल माग गरेको थिएँ। तर भएन। कुनै मैत्रीपूर्ण खेल खेल्न नपाएको अवस्थामा मलाई टिम सेट गर्न गाह्रो छ,’ प्रशिक्षक महर्जन भन्छन्।

नेपालले प्रतियोगिताअघि इन्डोनेसियाको यू-२३ सँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको छ। यही खेल नै नेपाली टोलीको आफ्नो स्तर जाच्ने यन्त्र हुनेछ। र, आफ्नो सुरुवाती ९प्लेइङ ० सेट समेत बनाउने मौका रहनेछ।

प्रशिक्षक बालगोपाल भन्छन्, ‘इन्डोनेसियाविरुद्ध खेलेपछि आफ्नो टिम कस्तो छ, कुन स्तरमा छ थाहा हुन्छ।’

उमेर समूहको यू-१६, १९ प्रतियोगितामा एसियामै बलियो प्रस्तुति दिँदै आएको नेपाल यू-२३ प्रतियोगितामा भने चुक्दै आएको छ। पछिल्लो दुई सहभागितामा भने नेपालले गोलसमेत गर्न सकेको छैन।

यस्तै अवस्थामा यो टोलीलाई एउटा चुनौती छ। उमेर समूहमा आफूलाई प्रमाणित गर्ने।

तर प्रशिक्षक बालगोपालले प्रतिद्वन्द्वी हेरेरै नतिजा आंकलन गरिसकेका छन्। उनको ध्यान अंक खोस्ने भन्दामा पनि गोल कम बेहोर्नेमा हुनेछ।

‘इरान भन्ने टिम एसियाको मात्रै हैन। युरोप लेभलको टिम हो। समूहमा तीनै टोली हामीभन्दा धेरै बलिया छन्। सक्दो राम्रो नतिजा ल्याउन खेल्नेछौं,’ १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक जिताएका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्।

यसपटक प्रशिक्षक बालगोपाललाई ‘प्लस प्वाइन्ट’ के छ भने राष्ट्रिय टोलीबाट खेलिसकेका ११ खेलाडी टोलीमा छन्। जसले उनलाई निराशा गराउने छैनन्।

साफ उपविजेता टोलीबाट मनिष डाँगी, आयुष घलान, सुरज ठकुरी, गौतम श्रेष्ठ, सुमन अर्याल र नितिन थापा रहेका छन्। राष्ट्रिय टोलीबाट खेलिसकेका अभिषेक रिजाल, दर्शन गुरुङ, राजन गुरुङ, एरिक बिष्ट र विशाल श्रेष्ठ पनि छन्। राष्ट्रिय टोलीमा विशालले डेब्यू पाएका छैनन्।

यस्तै कप्तान तथा गोलरक्षक अर्पण कार्की, शिशिर लेखी, रन्दीप पौडेल, सेसेहाङ आङ्देम्बे, अनिल महर्जन, रोशन पहाडी, राजीव लोप्चन जस्ता खेलाडीले टोलीमा साथ दिनेछन्।

यिनै खेलाडी र पछिल्लो साफमा नेपालले ल्याएको नतिजाबाट एक प्रकारको ऊर्जा रहेको र नेपालले बलियो प्रस्तुति दिने महर्जन बताउँछन्।

‘राष्ट्रिय ६ खेलाडी र अन्य गरी धेरै खेलाडी छन्। साफ उपविजेता भएर आएकाले खेलाडीमा ऊर्जा छ । सिनियर टोलीबाट खेलिरहेकाले धेरै गाह्रो छैन। कुनै पोजिसनमा अभ्यास अभावका कारण कठिनाइ छ। खेलाडी मानसिक रूपमा बलिया छन्। खेलाडीले आफ्नो क्षमताअनुसार खेले भने राम्रो नजिता आउँछ,’ उनले भने।

यता, कप्तान अर्पण कार्की अभ्यास अभावका बाबजुद पनि राष्ट्रिय टोलीबाट खेलेका खेलाडी, उमेर समूहमा सँगै खेलेका खेलाडीबीच राम्रो तालमेल भएकाले राम्रो नतिजा निकाल्नेमा आफूहरू विश्वस्त भएको बताउँछन्।

‘धेरै समय तयारी भएन। तर राम्रो भयो। फिटनेसमा ध्यान दिएका छौं। ६ जना राष्ट्रिय टोलीबाट आएका खेलाडी छन् जसका कारण हामीलाई सहज हुन्छ। लगातार उमेर समूहमा सँगै खेलेका खेलाडी छौं। सबै मिलेर खेलेपछि राम्रो नतिजा आउँछ। माथिका टिम छन् भनेर हामी डराएर खेल्न हुँदैन। कसरी फाइट गरेर हामी नतिजा लिन सक्छौं। त्यसतर्फ ध्यान दिन्छौं,’ उमेर समूहको यू-१८ साफ च्याम्पियनसिपमा नेपालाई उपाधि दिलाएका कप्तान अर्पणले भने। 

नेपाली ३२ टोली
गोलरक्षक : अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल 
डिफेन्डर : सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू
मिडफिल्डर : नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट
स्ट्राइकर : रितिककुमार खड्का, मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजीव लोप्चान

प्रकाशित मिति: : 2021-10-20 15:13:00

प्रतिकृया दिनुहोस्