विमलले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

Photo : ANFA
Photo : ANFA

नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य विमल घर्तीमगरले आगामी शहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबबाट खेल्ने भएका छन्।

युवा स्ट्राइकर विमल र साविक विजेता मछिन्द्र यस सिजन सँगै रहने निर्णय गरेका हुन्। गत सिजनसमेत मछिन्द्रबाट लिग खेलेका विमलले यस सिजनमा पनि खेल्ने निर्णय लिएका हुन्।

क्लबले युवा खेलाडी विमल यस सिजन क्लबसँग रहने बताएको हो। ‘यस सिजनसमेत विमल क्लबमै रहनेछन्। विमल र क्लब सम्झौता नवीकरण गर्न तयार भएका छौं,’ क्लबले बताए।

क्लबले भोलि (आइतबार) दिउँसो २ बजे पत्रकार सम्मलेन गरेर विमललाई क्लबमा अनुबन्धन गर्दैछ।

गत सिजनमा विमलले मछिन्द्रबाट अन्तिम खेलमात्रै खेलेका थिए। भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गर्दा अन्तिम खेलमा मात्रै विमलले खेल्न पाएका थिए।

यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्रममा विमलले घुँडाको एसियल गुमाएका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावपछि कतार एफएले विमलको शल्यक्रिया कतार अस्पेटार अस्पतालमा गरेको थियो। त्यसयता, नेपाल फर्किएका विमल रिकभरीको हुने तयारीमा छन्।

गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र पहिलो पटक लिगको उपाधि हात पार्न सफल भएको थियो। अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन।

यसपटक क्लबले कप्तान विराज महर्जनलाई विदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देभेन्द्र तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ।

मछिन्द्रले यसपटक प्रशिक्षकमासमेत ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ। यसअघि मछिन्द्रले एएफसी लाइसेन्स प्रक्रियामा जान पिस पोइन्ट बोर्डिङ स्कुलसँग सम्झौता गरेको थियो।

 

प्रकाशित मिति: : 2021-10-23 20:29:00

प्रतिकृया दिनुहोस्