वीर गणेशमान सिंह स्पाेर्टस् समितिकाे आयाेजनामा आज (मंगलबार) देखि ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ सुरु भएको छ। प्रतियोगिताकाे ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा नेता सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन्।
‘नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले छ दशकसम्म निर्वाह गरेकाे भूमिका अनुकरणीय रहेको छ’, नेता सिंहले भने, ‘पदका लागि लुछाचुँडी भइरहेको वर्तमान अवस्थामा गणेशमानजस्तो त्यागी पुरुषबाट पाठ सिक्नु पर्छ।’
प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर छात्र र छात्रातर्फ २३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्गत पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता तथा तेस्रो स्थान हात पार्नेले क्रमश ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन्।
त्यसैगरी युगलतर्फ तथा पुरुषको ३५ वर्षमाथि एकलतर्फ शीर्ष तीन स्थानमा हात पार्नेले क्रमश ४० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन्। पुरुषको ३५ वर्षमाथि युगलतर्फका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्ने प्रतियोगिता संयोजक भाष्करमान सिंहले जानकारी दिए।
प्रतियाेगिता आगामी कार्तिक १६ सम्म सञ्चालन हुनेछ।