प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

तेजन खड्का

विराटनगर

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले  राजीनामा घोषणा गरेका छन्।

प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन्।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेको बताए।

उनले आजै प्रदेश प्रमुख सामु राजीनामा बुझाउने जानकारी पनि दिएका छन्।

राजीनामा घोषणाअघि उनले एक घण्टा सम्बोधन गरेका थिए। जनताले आफ्नो सरकारको निरन्तरता चाहेको बताउँदै उनले संसदीय अङ्कगणितमा मेल नखाएकाले राजीनामा दिने घोषणा गरे।

राजीनामा घोषणा गर्दै मुख्यमन्त्री आचार्यले अब बन्ने सरकारलाई सकारात्मक समर्थन गर्ने बताए। मुख्यमन्त्रीको राजीनामापछि सभामुखले कात्तिक २३ गतेसम्मका लागि बैठक स्थगित गरे।

गणित प्रतिकुल हुँदा हुँदै पनि मुख्यमन्त्री आचार्यले बिपक्षी सासद फकाउन भगिरथ प्रयास गरेका थिए। तर, त्यो सम्भावना नभएपछि उनले राजीनामा दिएका हुन्।

आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बने
गत भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बने। ९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो। त्यसपछि आचार्य अल्पमतमा परेका थिए।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेमा ४२ औं दिनमा कार्तिक ५ गते प्रदेशसभामा प्रस्ताव राखेका थिए।

मुख्यमन्त्री आचार्यले निर्वाचन आयोगले एमालेका १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएको निर्णय २५ गते गरेकोलाई आधार बनाएर ३० दिनभित्र अर्थात् असोज २३ गतेसम्ममा सदनमा विश्वासको प्रस्ताव राख्नु पर्ने थियो।

प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्नुभन्दा २ दिन अगाडि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनु पर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ। तर उनले असोज २५ गते ३२ औं दिनमा प्रदेशसभा सचिवालयमा विश्वासको मतका लागि सूचना दिएका थिए।

प्रकाशित मिति: : 2021-11-01 14:36:00

प्रतिकृया दिनुहोस्