टी–२०ः विश्वकप बंगलादेश उपाधि होडबाट बाहिरियो, दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा जीवितै

Photo - REUTERS
Photo - REUTERS

बंगलादेशलाई पराजित गर्दे दक्षिण अफ्रिकाले आइसिसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनल यात्रा जीवित राखेको छ। मंगलरबार सुपर–१२ को समूह–१ को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराएको हो।

जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल यात्राको सम्भावना बाँकी रहँदा बंगलादेश भने उपाधि होडबाट बाहिर रहेको हो। 

८५ रनको सामान्य  लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो। दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बभुमाले सर्वाधिक ३१ रनको अविजित इनिङ खेले। यस्तै रास्सी भान डर डुसेन २२ रनको योगदान दिए। 

बंगलादेशका तस्किन अहमदले २ विकेट लिए। भने नासुम अहमद र माहेदी हसनले समान १–१ विकेट लिए। 

यसअघि आबुधाबीमा टस हारेर ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा ८४ रनमा अल आउट भएको थियो। 

बंगलादेशका माहेदी हसनले सर्वाधिक २७ रन बनाए। यस्तै ओपनर लिटन दासले २४ रनको योगदान दिए। 

दक्षिण अफ्रिका कागिसो रबाडा र   एनरिच नोर्कियाले समान ३ विकेट लिए। यस्तै तबरेज शाम्सीले २ विकेट हात पारे। 

समूह–१ मा इंग्ल्याण्ड शीर्षस्थानमा रहँदा दक्षिण अफ्रिका ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ। एक खेल कम खेलेको अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो, वेस्ट इंण्डिज पाँचौँ र बंगलादेश पुछारमा छ। 

समूह–२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ शीर्ष स्थानमा छ। अफगानिस्तान दोस्रो स्थानमा छ। न्युजिल्यान्ड  तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ। यता, अंक विहीन भारत र स्कटल्यान्ड क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।

प्रकाशित मिति: : 2021-11-02 20:45:00

प्रतिकृया दिनुहोस्