जिम्न्याष्टिक टोलीलाई प्रमाणपत्र

नेपाल जिम्न्याष्टिक सङ्घले पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई आज सहभागिताको प्रमाणपत्र प्रदान गरेको छ।

नेपाल जिम्न्याष्टिक सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधानले  आज आयोजित  एक कार्यक्रमबीच खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेका छन्। अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन सङ्घले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताएका छन्।

अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको उक्त प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष \महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए। 

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिङ्की झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धरले प्रतिस्पर्धा गरेका थिए।

त्यस्तै जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपीन दोङले खेलेका थिए। प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान बज्राचार्य छन्।


अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशीलप्रकाश प्रधान रहेका छन् । नेपाल जिम्न्याष्टिक सङ्घका महासचिव मुकुन्दराज शर्माले पदक नै नजिते पनि खेलाडीको प्रदर्शन उत्साहजनक रहेको बताए।
 

प्रकाशित मिति: : 2021-11-10 12:13:00

प्रतिकृया दिनुहोस्