चुनावसम्मै गठबन्धन हुन्छ, ओली प्रवृति समाप्त भइसक्याे– प्रचण्ड

Breaknlinks
Breaknlinks

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तीनै तहको चुनावसम्म गठबन्धन गर्ने बताएका छन्। बुधवार डोल्पाकाे सदरमुकाम दुनैमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।

लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई समाप्त पार्न लागेका प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध गठबन्धन बनाएरै परास्त गरिएको उनले बताए। अहिले सातवटै प्रदेशमा ओली प्रवृति समाप्त भइसकेको प्रचण्डको भनाइ छ।

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठनबन्धन गरिएको बताउँदै राष्ट्रिय सभाको निर्वाचनमा पनि सबै सीट जित्ने उनको दाबी छ। देशैभरी माओवादी प्रवेश गर्ने लहर चलिरहेकाले अब देश माओवादीमय हुने प्रचण्डकाे विश्वास छ।

माओवादी र एकीकृत समाजवादी पार्टीबीच पनि एकताको प्रयास भइरहेकाले उनले खुलासा गरे। २०६४ को तत्कालीन चुनावमा जस्तै अब फेरी माओवादी देशको एक नम्बर पार्टी बन्ने उनको भनाइ छ।

कर्णाली माओवादीको आधार क्षेत्र भएकाले समाजवाद निर्माणको थलोका रुपमा हेरेकोसमेत प्रचण्डले बताए। 'जनयुद्धकाल देखि नै डोल्पालाई देश–दुनियाँले बुझिसकेकाे हुँदा डोल्पाली जनताको नेतृत्व माओवादी केन्द्रले गर्ने संकेत देखिएको छ,' उनले भने, 'उपल्लो डोल्पामा माओवादीप्रतिको धारण धेरै राम्रो पाएका छौँ, अब अघिल्ला चुनावमा जस्तै गुण्डागर्दी गरेर एकछापे लगाएर, बीस–पच्चीस लाख रुपैयाँ खर्चेर चुनाव जित्ने परिस्थिति हुँदैन।'

उपल्लो डोल्पाका जनताले धेरै पहिलेदेखि आफ्नो मत आफै हाल्न नपाएको गुनासो गरे। 

'डोल्पामा ठेकेदारले वर्षौसम्म सडक निर्माणको काममा ढिलासुस्ती गरेर लुट्नुसम्म लुटेकोसमेत गुनासो आएको छ,' उनले भने, 'सेनालेनै धेरै राम्रो गरेको थियो भन्ने पनि सुनियो,अब राष्ट्रिय महत्वको परियोजनाको रुपमा रहेको धो–ल्यासीक्याप हुँदै दुनै जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिने विषयमा पूर्ण सकारात्मक छु।'

उपल्लो डोल्पाको तीनवटा स्थानीय तहमा पुग्दा जनतामा विस्तारै राजनीतिक जागरण आएको उनले बताए। राष्ट्रको स्वाधीनता, सामाजिक न्याय,ज नताको विकास र राष्ट्रिय एकताका लागि सबै पार्टीलाई एकजुट हुन प्रचण्डले आग्रह गरे।

डोल्पाको फोक्सुण्डोमा बसेका माओवादी केन्द्रका नेताहरु बिहिवार छार्काताङ्सोङ् गाउँपालिका र सदरमुकाम दुनैको कार्यक्रम सम्पन्न गरेर काठमाण्डौ फर्केका छन्।

प्रकाशित मिति: : 2021-11-11 18:17:00

प्रतिकृया दिनुहोस्