सात दिने ‘अल्टिमेटम’ सहित सांसद शाहीले गराए वायुसेवा निगमको ध्यानाकर्षण

नेपाल एयरलाइन्सको जहाज पठाउन माग गर्दै नेपाल वायु सेवा निगमको क्षेत्रीय कार्यालय नेपालगञ्जको ध्यानाकर्षण गराइएको छ।

कर्णाली प्रदेशसभा सांसद बिरबहादुर शाहीको नेतृत्वमा बिहिबार गएको डोल्पालीहरुको टोलीले लिखित पत्रसहित क्षेत्रीय प्रवन्धकको ध्यानाकर्षण गराएको हो।

सरकारी जहाज नेपाल एयरलाइन्सले कर्णालीका रुकुम (पश्चिम), जुम्ला, मुगुलगायतका जिल्लामा नियमित उडान गरेपनि दुर्गम जिल्ला डोल्पामा अहिलेसम्म पनि उडान नगरेर विभेद गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

डोल्पाली नागरिकका लागि भरपर्दो यातायातको साधनको रुपमा रहेको हवाइजहाज नै रहेकाले तुरुन्तै नेपाल एयरलाइन्सले नियमित उडान गर्नुपर्ने माग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको सांसद शाहीले बताए।

डोल्पासम्म सडक सञ्जालको राम्रो सुविधा नहुँदा बिरामी, विद्यार्थी र आम सर्वसाधारणलाई जिल्ला बाहिर आवत–जावत गर्न ठुलो समस्या झेल्नु परेको शाहीको भनाइ छ।

‘सात दिने अल्टिमेटम सहित क्षेत्रीय प्रवन्धकको ध्यानार्षण गराएका छौँ, उहाँबाट पनि कुरा सकारात्मक आएको छ, समय सिमाभित्र उडान भएन भने क्षेत्रीय कार्यालयमा तालाबन्दीसहित आन्दोलन गर्ने चेतावनी समेत दिएका छौँ’, शाहीले भने।

नेपाल एयरलाइन्सले हप्तामा तीनवटा उडान गरेपनि डोल्पाका दुखी, गरिब, विपन्नलगायतका नागरिकलाई निकै राहत हुने उनको विश्वास छ।

जुफाल विमानस्थलमा उडान गरिरहेका तारा, समिटलगायतका निजि एयरलाइन्स कम्पनीले पावर र पहुँचका आधारमा टिकट वितरण गर्ने भएपछि आम सर्वसाधारणले हवाइ टिकटको ठुलो सास्ती खेप्न बाध्यछन्।

प्रकाशित मिति: : 2021-11-25 16:20:00

प्रतिकृया दिनुहोस्