राणाजीका बिहे

गोरखापत्र

काठमाडौँ

प्रकृति अधिकारी

श्री ३ चन्द्रशमशेरले राणा खलकभित्र वर्ग विभाजन गरे– ए, बी र सी। जातभित्रकै बाजागाजासहित भित्र्याइएकीबाट जन्मिएकाहरू ‘ए’ वर्गमा परे। जातभित्रकै तर अनौपचारिक रूपमा भिञ्याइएकी वा नभिञ्याइएकीबाट जन्मिएकाहरू ‘बी’ वर्गमा परे। जातबाहिरकीबाट जन्मिएकाहरू ‘सी’ वर्गमा परे। श्री ३ का सन्तानले राजपरिवारसँग बिहे गरेपछि माथिल्लो दर्जाको सैनिक पद पाउँथे। वीरशमशेरले शाहज्यादीसँग विवाह गरेपछि कर्णेल दर्जा पाएका थिए। उबेला पदासिन रहेका राणाजीका सन्तानको बाजागाजासहित गरिएका विवाहको विवरण कुमारीचोक अड्डामा सुरक्षित राखिए। नेपाली कागतमा लेखिएका ती विवरण अहिले ऐतिहासिक दस्तावेज बनेका छन्। राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेका छन्।

तत्कालीन श्री ५ वा श्री ३ का सन्तानको बिहे हुँदा त्यो बेलाका धेरै सरकारी कार्यालयलाई व्यवस्थापनको जिम्मेवारी दिइन्थ्यो। ती कार्यालयका हाकिम वा कारिन्दा यो बेला निकै व्यस्त रहन्थे। भन्सार गोश्वारा, हात्तीसार गोश्वारा, अपिल अड्डा, कौसितोषाखाना, चन्द्रबत्ती प्रकाश बिजुली अड्डा वा अन्य कार्यालय, सबैलाई कामको बाँडफाँट गरिन्थ्यो। रुक्का वा साधारण एक छापे पुर्जी (सनद) सम्म गरिएको देखिन्छ। कम्यान्डर इन चिफबाट सही गरी अह्रोट लेखिएकालाई एक छापे पुर्जी भनिन्थ्यो। बिहेका सवालमा दुई छापे पुर्जी आवश्यक पर्दैन थियो। प्रजातन्त्र आइसकेपछि अर्थात् २००८ साल वैशाखमा श्री ३ का सेवामा रहेका अड्डाहरू खारेज गरिए। हुकुम निक्सारी, जिन्सीखाना, श्री ३ ढुकुटी, सिंहदरबार खर्च अड्डा, घरकाज नगदी फाँट, चिफ नोकरान, नगदी तहबिल, सिंहदरबार बही बुझ्ने, श्री ३ गोठ गोश्वारा, सिंहदरबार लठ्ठी पालो, असववखाना लगायतका ४६ वटा अड्डा खारेजीमा परे।

प्रकाशित मिति: : 2021-11-27 13:01:00

प्रतिकृया दिनुहोस्