पोखरा म्याराथन सफल बनाउन सरकारको साथ रहन्छः खेलकुदमन्त्री गुरुङ

File Photo
File Photo

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सरकारको साथ रहने बताएका छन्।

नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा मन्त्री गुरुङ र प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले पोखरालाई विश्वमा चिनाउन म्याराथनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन्। उनले भने, 'प्रदेश सरकार पोखरा म्याराथन सफल बनाउन पूर्णरुपमा सहयोग गर्न तयार छ।'

मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि नेपालका अग्रज खेलाडीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफूले प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई प्रदेशको खेलकुदको विकासमा लगाउन अग्रज खेलाडीहरुलाई आग्रह गरे।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले अग्रज खेलाडीहरुको संस्थाबाट सम्मानित हुन पाउँदा आफूलाई निकै गौरव लागेको धारणा राखे। उनले भने, 'पोखरा म्याराथनले पोखराको पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय भूमिका खेलेको छ।' खेलकुद जीवनको सफलताका आधार रहेको बताउँदै उपाध्यक्ष गुरुङले यसले समाजमा खेलकुद संस्कृतिको जगेर्ना गर्नसमेत उल्लेख्य भूमिका निर्वाह गर्ने बताए।

खेलकुदका सदस्यसचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले मञ्चले आफ्नो खेलकुद जीवनमा धेरै सिक्ने अवसर दिएको बताए। उनले पोखरा म्याराथन १६औँ संस्करणसम्म सफलतापूर्वक आउनुको पछाडि पोखरेलीहरुको निःस्वार्थ साथ र सहयोग रहेको उनको भनाइ थियो। उनले गण्डकी प्रदेशको राजधानी पोखरासँगै प्रदेशका ११ वटै जिल्लामा दौड आयोजनाका लागि प्रदेश खेलकुद परिषद्ले आफ्ना कार्यक्रम तय गरिसकेको र गण्डकी प्रदेशलाई दौडको प्रदेशका रुपमा परिचित गराउनेतर्फ परिषद् अघि बढेको बताए।

उनले नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागि प्रदेश खेलकुदले विभिन्न कार्यक्रमहरु गर्ने तयारी गरिरहेको र त्यसको केही दिनमा नै घोषणा गर्ने जानकारी दिए। मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङ र उपाध्यक्षलाई स्वागत तथा बधाई दिन पाउँदा निकै खुसी लागेको जनाउँदै १६औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीबारे जानकारी गराएका थिए। 

प्रकाशित मिति: : 2021-11-30 16:27:00

प्रतिकृया दिनुहोस्