दुई जोखिमकाबीच दुई मतले चुनाव हारेका विजय गच्छदार

शिलापत्र

भागवत भट्टराई

कांग्रेसभित्र विजयकुमार गच्छदारको मत बलियो नै रहेछ । निर्वाचित हुन दुई मत मात्रैले चुकेता पनि आफ्नो मतको बल भने उनले प्रमाणित गरेका छन्- गच्छदारलाई मात्रै नभइ देउवा प्यानललाई पनि आएको भोट किन नहोस् ।

निर्वाचन हुनु पहिले पनि देउवा सभापति र गच्छदार उपसभापति न‌ै थिए । अन्य उम्मेदवारको तुलनामा गच्छदारको लागि यो निर्वाचन दुईवटा कारणले जोखिमपूर्ण थियो । एक, उनीविरुद्ध ललिता निवास जग्गा अपचलनको विषयमा अदालतमा मुद्दा छ, त्यसै कारणले उनी संसदबाट समेत निलम्बित छन् ।

दोस्रो, कांग्रेसमा २०२७ सालदेखि आफूलाई चिनाएर पनि बीचको १० वर्ष कांग्रेसबाट उनी अलग्गिए । त्यसपछि पुन: कांग्रेसमा प्रवेश गरेपछि पहिलोपटक आन्तरिक निर्वाचनको सामना गर्नुपरेको थियो ।

यी दुई जोखिमकाबीच पनि उनले शानदार मत प्राप्त गरेका छन् । राजनीतिक लाभ आफू वरिपरि घुमाउन सक्ने नेताका रूपमा चित्रित छन् गच्छदार, अहिलेसम्म १२ पटक त मन्त्री नै बनिसके । उनको संयोग मानाैँ ०६४ सालमा पार्टीले तोकेको क्षेत्रमा निर्वाचन लड्न टिकट नदिएको तथा आफ्ना मान्छेलाई बेवास्ता गरेको भन्दै निर्वाचन हुनुभन्दा दुई हप्ताअघि पार्टी छोडे । तर, राम्रो मतसहित संविधानसभाक‍ो निर्वाचनमा निर्वाचित भए । ठिक १० वर्षपछि त्यसैगरी निर्वाचन हुनुभन्दा केही समयअघि मात्रै कांग्रेसमा प्रवेश गरे, र आफ्नो र पार्टीको पक्षमा परिणाम निकाले ।

प्रकाशित मिति: : 2021-12-16 11:02:00

प्रतिकृया दिनुहोस्