‘चिच्याएर न्याय माग्दा नपाइने समाजमा बहिरो हुनुको पीडा सहिसक्नुछैन’

चार वर्षको छोरालाई काखी च्याँपेर कागेश्वरी मनोहरा नगरपालिका– ९ की एक महिला अत्तालिँदै ‘राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ’को कार्यालय रातोपुल पुगिन्। उनी श्रीमानसँगको झगडा मिलाउन त्यहाँ पुगेकी थिइन्।

झगडा मिलाउन प्रहरी कार्यालय वा अदालत नगएर किन उनी संघको कार्यालय पुगिन् त ? किनकि उनले सुन्न र बोल्न सक्दिनन्, उनको सांकेतिक भाषा बुझ्ने व्यक्ति प्रहरी कार्यालयमा छैनन्।

संघकी अध्यक्ष लक्ष्मी महर्जन देवकोटा भन्छिन्, ‘हामीले उनको गुनासो सुन्यौँ, त्यसपछि उनको श्रीमान्लाई कार्यालयमा बोलाएर सम्झायौँ।’

अध्यक्ष देवकोटा पनि सुन्न र बोल्न सक्दिनन्, उनले सांकेतिक भाषामा व्यक्त गरेका कुरा हामीलाई दोभासे आकृति न्यौपानेले नेपाली भाषामा सुनाएकी हुन्। (यो समाचारका लागि रिपोर्टिङ गर्दैै गर्दा हामीलाई लाग्यो– मिडियाले पनि एउटा दोभासेको व्यवस्था गर्नुपर्ने रहेछ, समाचार संकलनका लागि।)

अध्यक्ष देवकोटाका अनुसार, ती श्रीमानसँगको झगडा मिलाउन आएकी महिला इसाई धर्म मान्थिन्। केही वर्षअघि उनले हिन्दूधर्म मान्ने पुरुषसँग प्रेमविवाह गरेकी हुन्। सुरुवाती चरणमा धर्मका कारण उनीहरूबीच कुनै समस्या आएन, तर पछिल्लो एक–दुई वर्षयता श्रीमान्ले धर्म परिवर्तनका लागि दबाब दिन थाले र सोही विषयलाई लिएर दुईबीच झगडा बढ्न थाल्यो।

प्रकाशित मिति: : 2021-12-22 11:55:00

प्रतिकृया दिनुहोस्