नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किएका छन्।
२८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न नेपाल झरेका हुन्।
साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आएका थिए।
एन्फाले उनलाई २०२२ सम्म नेपालमै हुनेगरि सम्झौता नवीकरण गरेको थियो। त्यसपछि पुनः गृहनगर कुवेत फर्किएका अब्दुल्लाह लामो विश्रामपछि फर्किएका हुन्।
हाल उपत्यकामा जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणपछि राष्ट्रिय टोलीले केही मैत्रीपूर्ण खेल खेल्ने भएसँगै अब्दुल्लाह नेपाल आइपुगेका हुन्।
उनलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय लगायत एन्फा सदस्यले विमानस्थलमा स्वागत गरे।