एमाले डाेल्पाकाे अध्यक्षमा शेरबहादुर बुढा निर्वाचित

नेकपा (एमाले) डाेल्पाकाे अध्यक्षमा युवा नेता शेरबहादुर बुढा निर्वाचित भएका छन्। पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट छ जना आकांक्षीबाट सहमति जुटाउँदै बुढा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

पार्टीभित्र क्रियाशील आधादर्जन नेताहरुकाे अध्यक्षमा दाबी भए पनि आन्तरिक छलफलबाट आफूलाई अध्यक्षमा सहमति जुटेकाे बुढाले बिएल नेपाली सेवालाई बताए।

देशमा अझै पनि एमाले पहिलाे शक्ति भएको दाबी गर्दै आगामी चुनावमा डाेल्पामा पनि पहिलो पार्टी बनाउने नवनिर्वातित अध्यक्ष बुढाले बताए। एमालेकाे गढकाे रुपमा रहेकाे उपल्लो डाेल्पामा पछिल्लो समयमा आएको राजनितीक विचलनकाे अन्त्य गर्ने उनकाे दाबी छ।

अहिले जुन पार्टीमा गए पनि बिस्तारै सबै एमालेमा फर्किने उनकाे भनाइ छ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य समेत रहेका लाेकप्रिय नेता धनबहादुर बुढालाई अहिले समाजवादी पार्टीमा गए पनि पुरानै पार्टीमा फर्काउने प्रयास भइरहेकाे बुढाले बताए।

'बाटाे बिराउँदा नेता कार्यकर्तामा केही निरासा छाएकाे पक्कै हाे, तर उहाँलाई फर्काउने प्रयास जारी छ, उहाँ पुरानै घरमा फर्किने कुरामा पूर्ण रुपमा विश्वस्त छाै,' बुढाले भने।

जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बुढा प्रभावशाली युवा नेताकाे रुपमा परिचित छन्।

अध्यक्ष पदकाका लागि निवर्तमान अध्यक्ष तुलाचन्द्र बुढा, उप-सचिव विष्णुबहादुर राेकाय, जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढा, एमाले प्रदेश कमिटी सदस्य लंकबहादुर शाही र नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेशका अध्यक्ष पूर्णबहादुर डाँगीले दाबी गरेका थिए। अन्तिममा सबैले बुढालाई समर्थन जनाएका हुन्।

त्यसैगरी पार्टी सचिवमा युवा नेता लंकबहादुर राेकाय निर्विरोध निर्वाचित भएका छन्। अन्य पदका लागि छलफल जारी रहेकाे बताइएको छ।

प्रकाशित मिति: : 2022-01-08 16:42:00

प्रतिकृया दिनुहोस्