जर्मन क्लब बायर्न म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले पोर्चुगिज स्ट्राइकर क्रिस्टिायानो रोनाल्डोसँग बराबरी गरेका छन्। विश्व फुटबलको सर्वोच्च निकायले प्रदान गर्ने ‘फिफा द बेस्ट’ अवार्ड लगातार दोस्रो पटक जित्दै लेवान्डोस्कीले रोनाल्डोसँग बराबरी गरेका हुन्।
पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले लगातार दोस्रो पटक वर्षको उत्कृष्ठ ठहरिँदै उक्त अवार्ड हात पारे। उनले सो अवार्ड जित्नेक्रममा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर लियोनल मेस्सी र लिभरपुलका मोहम्मद सालाहलाई उछिने। मेस्सी दोस्रो तथा सालाह तेस्रो भए।
त्यसअघि अघिल्लो संस्करणमा लेवान्डोस्कीले मेस्सी र रोनाल्डोलाई उछिन्दै अवार्ड हात पारेका थिए। दुई पटक सो अवार्ड जितेसँगै लेवान्डोस्कीले दुई पटक लगातार नै फिफा द बेस्ट बनेका रोनाल्डोसँग बराबरी गरेका हुन्।
रोनाल्डोले सन् २०१६ र २०१७ मा द बेस्ट अवार्ड चुमेका थिए। उनले पहिलो संस्करणको अवार्ड जित्नेक्रममा मेस्सी र एन्टोइन ग्रिजम्यानलाई उछिने भने दोस्रो अवार्ड जित्दा मेस्सी र नेयमारलाई पछि पारेका थिए।