नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दैै मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २० औँ संस्करणको ‘आहा १ रारा गोल्ड कप’फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा मनाङले विभागीय आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँगको भेट पक्का गरेको हो। एपिएफले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई हराएको थियो। नियमित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा मनाङले आर्मीलाई निराश बनायो।
पेनाल्टी सुटआउटमा मनाङका गोलकिपर अशोक बरालले आर्मीका युद्ध शाहीको प्रहारलाई रोक्दै मनाङलाई उपाधि नजिक पुयार्ए। विपक्षीको एक प्रहार रोक्न सफल हुनुभएका गोलकिपर बराल म्यान अफ दी म्याचसमेत घोषित हुँदै रु आठ हजार पुरस्कार प्राप्त गरे। टाइब्रेकरमा मनाङका फ्रान्कलिन कुटी टाला, शिव गुरुङ, रुपेश केसी र अफिज ओलावालेले ओलावाले गोल गरे। मनाङका विश्व अधिकारीको प्रहार पोष्टमा लागेर फर्किदा गोल हुन सकेन।
आर्मीका लागि कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सफल भए। दीपक गुरुङको पेनाल्टी प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो। पहिलो हाफको नवौँ मिनेटमा मनाङले पाएको पेनाल्टीमा कप्तान विमल राना गोल गर्न असफल हुँदा मनाङले अग्रता लिने मौका खेर फालेको थियो। आर्मीका डिफेण्डर युद्ध शाहीले पेनाल्टी क्षेत्रमा बल क्लियर गर्ने क्रममा बल हातले छुँदा खेलका रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टीको अवसर दिएका थिए। खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्।
खेलपछिको पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक फुजा टोपेले पहिलो हाफमा प्राप्त पेनाल्टीको अवसर खेर फाल्दा जितका लागि टाइब्रेकरसम्म सङ्घर्ष गर्नुपरेको बताए। विपक्षी टोलीले राम्रो खेलेको भन्दै उनले पेनाल्टी सुटआउटमा आफ्नो टोली भाग्यमानी भएको उल्लेख गरेए। आर्मीका प्रशिक्षक राजु तामाङले प्राप्त अवसर सुदपयोग गर्न नसक्नुनै हारको कारण रहेको बताए। टोलीका केही खेलाडी घाइते भएकाले समेत फिनिसिङमा समस्या भएको उनले प्रतिक्रिया दिए।
यही माघ ६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल माघ १५ गते सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ। प्रतियोगिताको विजेताले रु १० लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन्। यसैगरी उपविजेताले रु पाँच लाख एक हजार र मेडल पुरस्कार पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ।