विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० अन्तरले पराजित गर्दै नवप्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ।
लिगमा १० खेल खेलेको सातदोबाटोले चार खेलमा जित, तीन बराबर र तीन हारको नतिजा निकालेको छ। सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिवार सम्पन्न खेलमा सातदोबाटोका आकाश बुढामगरले निर्णायक गोल गरे । आकाशले १९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै पोस्टको दिशा दिएका थिए।
लिगमा १० अंक जोडेको पुलिस तालिकाको १०औँ स्थानमा छ। पुलिसले १० खेलमध्ये दुईमा जित चारमा बराबर र चारमा हारको नतिजा आत्मसाथ गरेको छ।आजै दशरथ रंगशालामा भएको खेलमा लिग लिडर मछिन्द्र क्लबले तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको थियो।