तीन वटा करङका हड्डी भाँचेर तिमीलाई जोगाएँ...

मदन नेपाली

काठमाडौं
तस्बिर साैजन्य : राताेपाटी
तस्बिर साैजन्य : राताेपाटी

तिमीलाई जोगाउन मैले के-के मात्र गरिनँ र? तिमीलाई जोगाउनकै निम्ति मैले प्रहरीका भाटा खाएँ। प्रदर्शनकारीको ढुङ्गा खाएँ।

तिमीमाथिको प्रहार पनि मैले नै खाएँ, जसको कारण शरीरका मांशपेशी त अहिले पनि दुखिरहेका छन्।

एकातिर इँट्टा र ढुङ्गा बर्सिंदै थिए, अर्कोतिर प्रहरीका कटबाँसका लठ्ठीहरु। र पनि म भने तिमीलाई नै च्यापेर दौडिरहेँ। वास्तवमा मेरो शरीरलाई चोट लागे पनि तिमीलाई बचाउन सकेँ, याे नै मेरो ठूलो खुशी हो।


बुधबार (हिजो) काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद परिसर क्षेत्रमा एससीसीविरुद्ध विशाल विरोध प्रदर्शन भयो। सत्तामा रहेका दलहरुले नै आफ्ना भातृ संगठनहरूलाई जम्मा गरेर विरोधमा उत्रिए। जसले केही समय त ताण्डव नै मच्चियाे।

साथी रविन आइडु र म त्यही हजारौं प्रदर्शनकारीहरुको भीडमा छिर्यौँ। हामीले प्रेसको पहेँलो ज्याकेट लगाएका थियौं। घाँटीमा प्रेस कार्ड पनि थियो। मलाई लाग्यो कि हामी पत्रकार हौं, केही हुँदैन होला। तर ठिक उल्टो भइदियो।
एमसीसीको विरोधमा उत्रिएकाहरूले जताततै नारा लगाइरहेका थिए। प्रदर्शनकारी जर्बजस्ती संसद भवनतिर अघि बढ्न खोजिरेका थिए भने प्रहरीले पनि रोक्ने प्रयास गरिरहेका थिए।

त्यही बीचमा एकाएक हुलदङ्गा मच्चियो। त्यही हुलदङ्गामा साथी रविन आइडु त कता गए कता, पत्तै भएन।

प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल भयो। प्रहरीले भीड नियन्त्रणकाे लागि पानीकाे फाेहरा हान्ने थाल्याे। त्यसको केही समयपछि प्रहरीलाई प्रदर्शनकारीले ढुङ्गा हान्न थाले। गोलाबारुद जस्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा बर्साउन थाले। प्रहरीले पनि प्रतिकार गर्न थाल्यो। त्यसको बीचमा परेँ, म।
पूर्व जाउँ प्रहरीको लाठी खाइएला भन्ने डर, पश्चिम जाउँ प्रदर्शनकारीको ढुङ्गा लाग्ला भन्ने डर। एक समय त सास फुत्किने गरी भागेँ।

चेपुवामा परेकाे कारण मैले फुत्कने ठाउँ नै पाइनँ। त्यसपछि प्रहरीले अश्रुग्यास हान्न थाल्यो। त्यसले पनि नभएपछि फेरि पानीकाे फोहरा हान्न थाल्यो। अनि मेरो पनि होस उड्यो।

२–३ पटक ढुङ्गा त खाइसकेको थिएँ, तर मलाई मेरोभन्दा पनि क्यामेराको चिन्ता थियो। किनभने हामी ‘क्यामेरामेन’ लाई आफ्नोभन्दा बढी क्यामेराको चिन्ता हुन्छ।

प्रहरीले प्रदर्शनकारीलाई खेदाउँदै गरेका बेला उताबाट ढुङ्गा आयो। त्यो ढुङ्गालाई नछलेको भए मेराे क्यामेराको लेन्स टुक्रा-टुक्रा हुने थियो। ढुङ्गा प्रहार भइरहेको दिशापट्टी आफ्नो ढाड तेर्साएँ, क्यामेरा बचाउन।
एकछिन त मलाई सास नै फेर्न गाह्राे भयो। त्यति गरेपछि बल्ल क्यामेरा जोगियो। भाग्दै थिएँ, फेरि अर्को ढुङ्गा आइहाल्यो। त्यसलाई पनि बल्ल छलेँ।

प्रदर्शनकारीतिर भाग्नुको विकल्प थिएन। अर्कोतिर जाउँ, पुरै प्रहरीले लखेटिरहेको थियो। त्यसपछि पानीको फोहरा हान्न थाल्यो। ढुङ्गाबाट जसोतसो जोगाउन सफल भएको क्यामेरालाई अब पानीको फोहराबाट कसरी जोगाउनू ? मलाई फेरि तनाव भयाे।

आफूले लगाएको ज्याकेट निकालेर क्यामेरा छोपेर दृस्य कैद गर्न के लागेको थिएँ, प्रदर्शनकारी सम्झेर प्रहरीले त पछाडिबाट थचक्कै बस्नेगरी लठ्ठीले दिइहाल्यो। त्यसपछि त्यहाँबाट भागेँ। प्रहरीको साइडमा बस्दा सुरक्षित हुन्छु कि भन्ने मेरो आश त्यहीँ टुटेर गयो।
प्रहरीले मलाई मात्र हैन, अन्य प्रेसका साथीहरुलाई पनि त्यसरी नै हानेको रहेछ। त्यो कुरा मैले पछिमात्र थाहा पाएँ।

हजारौँको भीडबाट क्यामेरा जोगाएर अफिस पुगेको थिएँ, साथी रविन आइडुको पनि मेरोभन्दा खराब हालत भइसकेको रहेछ। निधार फुलाएर आइपुगेका साथी आइडुले निराश हुँदै भने, ‘मैले त नराम्रोसंग भेटेँ नि।’

हामी ‘क्यामेरामेन’ का लागि क्यामेरा मुटु हो।

जुम्लाबाट काठमाडौं आएर अध्ययन गर्नु मेरा लागि चुनौतीको सामना गर्नु हो। यस्ता खालका चुनौतीको सामना गर्दै खाना नखाएर बचाएको पैसाबाट किनेको मेरो क्यामेराको मलाई कति माया लाग्ला?

हुन त प्रहरीको लाठी र प्रदर्शनकारीको ढुङ्गा लागेर ३ वटा हड्डी छोइसक्नु छैन। र पनि मैले तिमीलाई जोगाउन पाएँ, त्यसैमा खुशी छु म- ‘मेरो मुटु Canon 250d।’ 

प्रकाशित मिति: : 2022-02-17 22:20:00

प्रतिकृया दिनुहोस्