दाेस्राे संस्करणकाे ‘लिगलिगे साइकल दाैड’ प्रतियाेगिता आगामी चैत्र ४ गते पालुङ्टारमा हुने भएकाे छ।
लिगलिगकोटको ऐतिहासिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई झल्काउँदै पर्यटन विकास गर्ने उद्देश्यले लिगलिगे साइकल दौड प्रतियाेगिता आयोजना गरिँदै आएकाे छ।
गत वर्षबाट सुरूवात गरिएकाे याे प्रतियाेगितालाई यसपटक पनि निरन्तरता दिन लागिएकाे आयोजक भिलेज स्पोर्टसले बिएल नेपाली सेवालाई जानकारी दिएकाे छ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लिगलिगकोटलाई खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गराउने उदेश्यले वर्षेनि दौड प्रतियोगिता आयोजना गरिँदै आएको लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष सञ्जिव राना मगरले बताएका छन्।
उक्त साइकल दौडले इतिहासमा मगर घले वंशका शासकहरुले दौडेर राजा छान्ने पद्धती बसालेको र नेपाल एकीकरणको जग बसाल्ने शाहबंशीय शासनको सुरुवात गरेकाे लिगलिगकोटमा ऐतिहासिक तथा सांस्कृतिक/साहसिक खेलबाट पर्यटनको विकास तथा रक्षा किल्ला सिरानचोक गढी र राइनासकोटसँग लिगलिगकोटको ऐतिहासिक सम्बन्धलाई जोड्ने र पुनर्ताजा गर्ने लक्ष्य लिएको आयोजककाे दाबी छ।
ऐतिहासिक गन्तव्य लिगलिगकोटले ‘एडभेन्चर डेष्टिनेशन’का रुपमा चिनारी बनाइसकेको छ। लिगलिगे साइकल दौड कार्यक्रमलाई वार्षिक खेल क्यालेन्डरमा प्रत्येक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राखिएको छ। तर, यसवर्ष भने कोरोना महामारीको कारण २०७८ साल चैत ४ गते शुक्रबारका दिन गर्ने तयारी गरिएकाे आयोजकले बताएकाे छ।
नेपाल एकीकरणअघि लिगलिगकोटमा घले मगरहरु दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो। त्यही बेलाको दौडेर राजा हुने परम्परालाई पछ्याउँदै अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन साइकल दौड गरिएको आएको आयोजक लिगलिग भिलेज स्पोर्ट्सका विजय पाण्डेले जानकारी गराए।
लिगलिगकोट (१४३७ मिटर) ऐतिहासिक स्थल हो। कोट क्षेत्रमा बसोबास गर्ने मगर, ठकुरी तथा दलित समुदायको जीवनशैली र संस्कृति मनमोहक छ। यहाँबाट देखिने उत्तर–पूर्वतर्फ मनोरम बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन बढी हिमश्रङखला अवलोकन गर्न सकिन्छ। दक्षिण–पश्चिमतर्फ हरिया महाभारत पर्वत शृङ्खला, नागवेली चेपे नदीका साथै विशाल फाँट र गाउँवस्तिका दृश्य अत्यन्तै रमणीय छ।
लिगलिगकोट क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिले निकै महत्वपुर्ण छ। नेपालमा २ सय ४० वर्ष शासन गरेको शाह वंशको उद्गमस्थल हो, लिगलिगकोट।
‘साहसिक खेलका माध्यमबाट यस ठाउँको प्रचारप्रसार र प्रवर्धन हुनेछ, साइकल दौडले यस क्षेत्रमा रहेको ऐतिहासिक स्थल, होमस्टे र रहनसहनको प्रचार गरेर पर्यटन विकासमा समेत सघाउ पुग्नेछ,’ संस्थाका भिलेज स्पोर्ट्सका अध्यक्ष सञ्जीव राना मगरले भने।
५२.९ किलोमिटरको दुरीको साइकल दौडमा पहिलोदेखि दशौँ हुनेलाई नगद पुरस्कार राशिको व्यवास्था गरिएको छ। प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमसः रू.२५, २०, १५ हजार नगद पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले बताएकाे छ। महिलातर्फ पनि सोहीअनुसार १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ।
पालुङटार नगरपालिका भित्रका स्थानीय महिला पुरुषका लागि छुट्टाछुट्टै विजेता घोषणा गरिनेछ। साइकल दौड प्रतियोगिता लिगलिगकोटबाट सुरु भएर आँपपिपल, हर्मी भञ्ज्याङ, थापागाउँ, आँपपिपल हस्पिटल, सिर्दिखोला, भण्डारथोक हुँदै लमजुङको राईनास नगरपालिकाका गरमबेशी, चेपे दोभान हुँदै पालुङटार एयरपोर्ट आइपुग्नेछ। त्यहाँबाट ताल पोखरी, ठाँटी पोखरी, लुईटेल हुँदै सभाचौतारोबाट लिगलिगकोट पुगेर टुंगिनेछ।
प्रतियोगितामा दर्ता शुल्क दुई हजार तोकिएको छ। सहभागी खेलाडीलाई खाना र बास लगायतको व्यवस्था आयोजकले गर्नेछ।
प्रतियोगितालाई पालुङटार नगरपालिका, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, सिरानचोक गाउँपालिका, राइनास नगरपालिका र गोरखा नगरपालिकाको सहयोग हुनेछ।
गत साल फाल्गुन ७ गते आयोजना गरिएको लिगलिगे साईकल दौडमा १०० जनाले प्रतिस्पर्धा गरेका थिए।
साइकल दौड प्रतियोगितामा सहभागीगिताको रजिष्ट्रेसन फागुन १० गतेबाट खुल्ला हुँदैछ। लिगलिगे साईकल दौडको फेसबुक पेजमार्फत् अनलाईन फर्म भर्न अनलाइनबाट रजिष्ट्रेसन गर्न सकिनेछ।
थप जानकारीका लागि : सन्जिव राना मगर -९८५१०३८३६०
विजय पाण्डे-९८४१२६७०९४