विश्वका चर्चित स्पिनर सेन वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्पिनर वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गरेका हुन्।
५२ वर्षीय वार्न शुक्रबार थाइल्याण्डमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए। उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रधानमन्त्री मोरिसनले वार्नको आकस्मिक मृत्युबाट अष्ट्रेलियाबासी निकै दुःखी भएको बताए। विश्वकै महान क्रिकेटर मध्येकै एक वार्नलाई संघीय र भिक्टोरियन सरकार, क्रिकेट अष्ट्रेलिया र उनको परिवारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ।
‘वार्नको राष्ट्रिय उपलब्धिलाई ध्यानमा राख्दै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ। यो वार्नको परिवारसँग परामर्श गरेर गरिनेछ,’ उनले भने। वार्नलाई सम्झिँदै मोरिसनले वार्न अष्ट्रेलियाका महान व्यक्तिहरूमध्ये एक भएको बताए।
यसैबीच, वार्नको सम्मानमा अष्ट्रेलियन क्रिकेट बोर्डले मेलबर्न क्रिकेट ग्राउन्डमा रहेको ग्रेट सदर्न स्ट्यान्डको नाम वार्नको नाममा राख्ने भएको छ।
शनिबार उनको सम्मानमा मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा स्ट्यान्ड नामकरण गर्ने निर्णय गरेको हो। भिक्टोरिया राज्यका पर्यटन तथा खेलकुद मन्त्री मार्टिन पकुलाले ग्रेट सदर्न स्ट्यान्डको नाम एसके वार्न स्ट्यान्डको रूपमा परिवर्तन गर्ने बताए।
वार्नले आफ्नो करियरमा एक सय ४५ टेस्ट खेलमा सात सय आठ विकेट लिएका छन्। एक सय ९४ एकदिवसीय खेलमा दुई सय ९३ विकेट उनको नाममा छ।
टेष्ट क्रिकेटमा विकेट लिने हिसाबले श्रीलंकाका मुथैया मुरलीधरन पछि दोस्रो नम्बरमा रहेका बलर वार्नले उनीभन्दा अगाडि सात सय विकेट पूरा गरेका थिए। बलिङको यो उच्च शिखर छुने उनी विश्वकै पहिलो बलर पनि हुन्।
वार्नले टेस्ट क्रिकेटमा तीन हजार एक सय ५४ रन बनाएका छन्। जुन कुनै पनि ब्याट्सम्यानले शतकविना नै सर्वाधिक रन बनाउने विश्व कीर्तिमान हो। वार्नले टेस्ट क्रिकेटमा १२ अर्धशतक बनाए तर उनको उच्चतम स्कोर ९९ रन मात्र रह्यो।
जुन उनले सन् २००१ मा न्यूजिल्याण्डविरुद्धको पर्थ टेष्टमा बनाएका थिए। वार्नको उत्कृष्ट बलिङले अस्ट्रेलियाले सन् १९९९ मा इग्ल्याण्डमा भएको आईसीसी क्रिकेट विश्वकपको उपाधि जितेको थियो।