विचारधारीहरु

सुन्दा तितो लाग्ला तर सत्य यही हो, यहाँ कसैको विचार सही र कसैको गलत भन्ने नै हुँदैन। गलत त तब हुन्छ जब त्यसको परिणाम सोचेको वा चाहेको भन्दा विपरित आइदिन्छ। हो, मानिस त त्यतिबेला पनि उत्तिकै खुशी हुन्छ, जब उसले नचाहेको विचारबाट उसले चाहेको परिणाम आइदिन्छ।

विचार त एउटा फगतको देखाउने दाँत मात्र हो। मानिस त्यही गर्न रुचाउँछ जे गर्दा उसको र उसकाहरूकाे सर्वोत्तम हित हुन्छ। यदि 'विचार' मानवीय इच्छा र आकाक्षा भन्दा माथि हुँदो हो त आज मानिसले आफ्नो विचारमा जुन सक्षमता देख्दैछ त्यहीँ सक्षमता किन देख्दैन ऊ केही काल पछि ? यदि विचारमा त्यति तागत हुँदो हो त किन टिकाउन सकेन 'बाबुराम जस्ता' कट्टर व्यक्तिहरूलाई र नयाँ उर्जा भएका 'मिलनहरूलाई' विचारमा।

नेपालमा फेसबुकेपछि आदर्शका कुरा यदि कसैले गर्छ भने त्यो विचारधाराले गर्छ। तर, त्यो कस्तो विचारधारा हो जुन जन्मदा 'मार्क्स'लाई देखेर जन्मिन्छ, चुनावमा 'माओ' संग मिसिन्छ अनि सत्तामा टिक्नलाई कहिले विपीका विचार सापट लिन्छ त कहिले आफ्नै विचार र व्यवहारबीच अल्मलिन्छ।

यति मात्र कहाँ होर ? सडकमा सोझा विचारधारीहरूलाई राष्ट्रियताको नाममा लडाएर, भिडाएर अनि घाइते बनाएर सदनमा रूख र हस्याको क्या खुब बैचारिक मिलन देखाउँछ।

बरू खोला जसलाई बग्नबाट रोक्न सकिदैन, त्यो कहाँ गएर ठोकिन्छ, कहाँ गएर मिसिन्छ भन्ने थाहा हुन्छ। तर, यो विचार कुन बेला कहाँ मिसिने हो पत्तै नहुने। समयको आवश्यकता अनुसार एजेण्डामा परिवर्तन ल्याउनु आवश्यक हुन्छ र ल्याउनु पनि पर्छ तर आफूले मुलुकलाई अलि फरक तवरले शासन गरेर विकसित बनाउन सक्छु। आर्थिक समानता ल्याउँछु। आदि उद्देश्य बोकेर हिँडेको विचार एकाएक अर्को विचारसँग सहकार्य गर्दा त्यहाँ उसले आफ्नो विचारलाई प्राथमिकता दिन पाउँछ त ?

हालै निर्वाचन आयोगले निकालेको तथ्याङ्कअनुसार आउँदो निर्वाचनमा सहभागी हुन ८० वटा विचारहरूले (पार्टी) ले नाम टिपाइसकेको अवस्था छ। आखिर पछि चुनावमा होस् या सत्तामा हुँदा होस् आफ्नो सहजताको लागि विचारलाई एकछिन घाममा सुकाएर सहकार्य गर्नु नै छ भने बरू पहिल्यै बसेर आफ्ना विचारहरू, धारणा, योजना अनि उद्देश्य छलफल गरी एक भएर आउँदा विचारको अलिकति भए पनि लाज जोगिन्थ्यो कि!

हुन त एकीकरण नदेखेको पनि होइन। हालसम्म हेर्दा लाग्छ सबै एकीकरण क्षणिक स्वार्थ पूर्तिका लागि मात्र  भए। तर, अब एकीकरण विचारको हुनुपर्छ, समग्र राष्ट्रिय हितको,  योजनाको हुनुपर्छ। अहिले राजनीतिक अस्थिरता कायम नै हुनुमा मुख्य तत्व भनेकै विचारधारीहरू आफ्नो विचार प्रति इमान्दार र प्रतिवद्ध हुन नसक्नु हो।

विचारलाई नै व्यवास्ता गर्दा न त पार्टीको केही ठोस् आर्थिक योजना छ न त संकल्प नै! विचार र विचारधारीहरूबीच नै यति ठूलो खाडल छ भने यसले जनतासँगको दुरी कसरी मेटाउन सक्छ ?

'मल्टीपार्टी डेमोक्रेसी' आफैमा सुन्दर फूल त हो। तर, याद रहोस् यो जंगली फूल पनि होइन आफै हुर्किन र सप्रनलाई। यो सप्रिन यसलाई रेखदेख गर्ने माली, प्रतिवद्ध र निष्ठावान र सचेत हुनु जरूरी छ। नत्र सिद्दान्त तहसम्मको कुरा गर्ने हो भने त अहिलेको चीन र कुनै बेलाको सोभियत संघ जस्तो शक्तिशाली बनाउने जस्ता ठूला उद्देश्य हुनु पक्कै राम्रो कुरा हो। विचार र सिद्धान्तमा यसरी बलिया विचारधारीहरू व्यवहारमा भने चुके कै हुन ?

– लेखिका कानुन विषयकी विद्यार्थी हुन्

प्रकाशित मिति: : 2022-03-08 14:33:00

प्रतिकृया दिनुहोस्