स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमबिरुद्द ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ।
घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए। ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए।
खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए। ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो।
खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ अन्तरको रोमाञ्चक जित निकालेको हो। यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन्।
जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ। टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा छ।