भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा शनिबार भएको सुपर फोरको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मेलवर्न क्रिकेट क्लब (एमसीसी) लाई ९१ रनले पराजित गर्दै जित निकालेको छ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४.१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ५३ रनको योगफल बनायो। उसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धिरज शाहीले १६ रन जोडे। बलिङमा मेलवर्नका रोशनलाल गुप्ताले ४, रमेश कुर्मी, सन्तोष यादव र सविन शाक्यले समान २–२ विकेट लिए।
जवाफी ब्याटिङ गरेको मेलवर्न २४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमै समेटियो। उसका लागि रोशनलाल गुप्ताले २८ र सुशान्त थापाले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्। उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका दुर्गेश गुप्ताले ४, अजयकुमार चौहानले ३ र लालबहादुर अधिकारीले २ विकेट लिए। दुर्गेश गुप्ता म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, वेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।