यु-१८ महिला साफ: नेपालको लगातार तेस्रो हार

Photo: ANFA
Photo: ANFA

यु-१८ महिला साफ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसंग ५–१ अन्तरले पराजित भएको छ।

भारतको जम्सेदपुरमा सम्पन्न खेलको १६औं मिनेटमा हेमाम सिल्की देवीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन्। 

२३औं मिनेटमा लिन्डा कोमले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन्। यस्तै, ३८ मिनेटमा कोमले नै गोल गर्दै भारतलाई तेस्रो अग्रता दिलाइन्।

५६औं मिनेटमा भारतकी अनिता कुमारीले चौथो गोल गरिन्। खेलको ६२औं मिनेटमा कोमले ह्याट्रिक गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाएकी थिइन्।

नेपालकी सन्दीपा भोलनले ७९औं मिनेटमा एक गोल फर्काएकी थिइन्।

यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७–० ले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल प्रतियोगितामा अंकविहिन छ।

प्रतियोगितामा तीन खेलबाट नौ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ भने दुई खेलबाट तीन अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ।

डबल राउन्ड रोविन लिग पद्दतीमा चलिरहेको च्याम्पियनसिपमा सर्वाधिक अंक जोड्नेले प्रतियोगिताको उपाधि जित्ने छ।

प्रकाशित मिति: : 2022-03-22 05:51:00

प्रतिकृया दिनुहोस्