नयाँ पुस्ता ठेकी बनाउन जान्दैन

राजधानी दैनिक

युवराज विष्ट

परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा संकटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो ।

संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा संकटमा पर्दै गएको यस क्षेत्रमा आवद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको ५० वर्ष बढी समयबाट चँदरा पेसा गर्दै आएका टेम्केमैयुुङ गाउपालिका–८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए । विश्वकर्माले भने, ‘यो हाम्रो पुर्खौली पेसा संकटमा पर्न थालेको छ । मेहनत धेरै गर्नुपर्छ । मेहनतअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् । खोला खोल्सीमा चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम हुन्छ । यसको संरक्षणमा सरकारले ध्यान दिए हुने थियो ।’

काठको सामग्री बनाउन दार, पँयले, लोडसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताए । तर, पछिल्लो समय त्यस्ताको काठसमेत अभाव हुँदै गएको उनले बताए । ‘काममा त दुःख छँदै छ । अझ काठको पनि अभाव छ । गाउँले आफै‌ले काठ खोजेर ल्याए भने हामी बनाइ दिन्छौं । हामीले ज्याला लिने हो’ विश्वकर्माले भने, ‘हामीले एक पाथी जाने ठेकी बनाएको २५० देखि ३०० रुपैयाँसम्म ज्याला लिने गरेका छौं । दुई जनाले दिनभर काम गरेको १ हजार ५ सयसम्म हुन्छ ।’

प्रकाशित मिति: : 2022-03-23 15:34:00

प्रतिकृया दिनुहोस्