‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ।
सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दिपेन्द्रसिंह ऐरी र फुटबलका टेकेन्द्र थापा परेका छन्। त्यस्तै, महिलातर्फ भलिबलकी सरस्वती चौधरी एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी उषानाथ परेकी छिन्।
पुरुषतर्फ मनोनयनमा परेका प्रिन्स जुनियर तर्फको विश्व बरियतामा १ नम्बरमा रहेका छन्। दिपेन्द्र अन्तराष्ट्रिय क्रिकेटमा शतक र अर्धशतकसहित टी– २० मा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन्। नेपाली पुरुष फुटबलको टिममा परेका टिकेन्द्र थापाले पहिलो पटक नेपालका लागि अन्तराष्ट्रिय डेब्यु गरेका हुन्। उनले जावलाखेल युथ क्लबकाट ए डिभिजन लिग खेल्दै आएका छन्।
महिलातर्फ मनोनयनमा परेकी सरस्वतीले नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिईन्। भने, घरेलु प्रतियोगिताहरुमा सानदार प्रदर्शन गर्दै आएकी छिन्। उषा उमेर समूह हुँदै नेपाली महिला फुटबल टोलीमा स्थान बनाउन सफल भएकी छिन्। उनी राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलरक्षक बनेकी थिईन्।
एथलेटिक्सकी राजपुराले भारतको नागाल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक जितेकी थिईन्। भने, १५औं र १६औं संस्करणको पोखरा म्याराथनको उपाधि पनि जितेकी थिईन्।
विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रायोजक धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ। भने, मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ। त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ। सह–प्रायोजकमा केल्मी रहेको छ।