गण्डकीका कुलपतिले जलाएको किताबमा सरकारकै डेढ लाख लगानी

अनलाइनखबर

विकास रोकामगर

गुरुङ जातिबारे भ्रामक इतिहास लेखेको भन्दै गुरुङ समुदायले विरोध जनाएपछि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का (बिखर्ची)ले शुक्रबार आफ्नै किताब जलाए ।

उक्त किताब प्रकाशनमा सरकारी ढुकुटीबाट डेढ लाख रुपैयाँ खर्च भएको थियो । त्यतिमात्रै होइन, पुस्तक प्रकाशन गर्न दिइएको सहयोग प्रदेश सरकारले जारी गरेको आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७६ विपरीत पनि थियो ।

गत कात्तिकमा खड्काको पुस्तक ‘लमजुङ र पृथ्वीसुब्बा’ प्रकाशित भएको थियो । उक्त पुस्तकको पृष्ठ १५ मा रहेको ‘पृथ्वीसुब्बा गुरुङ पुर्ख्यौली’ खण्डमा पूर्वमुख्यमन्त्री गुरुङकोे परिचय दिँदै खड्काले लेखेका थिए, ‘गुरुङ जातिहरुमध्ये उच्चस्तरको चार जात र निम्नस्तरको सोह्र जात भनेर पनि चिनिन्छ । यिनी (पृथ्वीसुब्बा गुरुङ) चार जाते हुन् । तर, यिनी जातीय विभेदको विरोध गर्छन् ।’

सोही वाक्यकै कारण खड्काको आलोचना भएको थियो । गुरुङ जाति सम्बद्ध संघसंस्थाले कुलपति खड्काले माफी माग्नुपर्ने र तत्काल पदबाट राजीनामा दिनुपर्ने भन्दै बिहीबार २४ घन्टे अल्टिमेटम दिएका थिए । सोही दबाबका कारण उनले शनिबार गुरुङ साहित्यिक मञ्चले आयोजना गरेको सार्वजनिक कार्यक्रममा ‘मैले विवेक पुर्याउन सकिन’ भन्दै उक्त पुस्तकको प्रति जलाए । उनले छापिइसकेका अरू किताब र इलेक्ट्रोनिक कपीसमेत नष्ट गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति: : 2022-04-03 08:37:00

प्रतिकृया दिनुहोस्