फुयालको 'अँजुलीमा थाप्न पाएँ' कृति सार्वजनिक 

लामो समयदेखि परराष्ट्र सेवामा रहेका कवि तथा गितकार सागर फुयालको कविता तथा गित संग्रह 'अँजुलीमा थाप्न पाए' सार्वजनिक गरिएको छ।

काठमाडौंमा आयोजित एक समारोहका बीच प्रा. डा. श्रीकृष्ण श्रेष्ठ , पूर्वराजदूतहरू निरन्जनमान सिंह बस्नेत , अरुण धिताल , बलबहादुर कुँवर , समालोचक नेत्र न्यौपाने , साहित्यकारहरू धीरकुमार श्रेष्ठ तथा कृसु क्षेत्री , समाजसेवी मुरारी आचार्य एवम् लेखककी आमा तथा प्रकाशक मैया फुयालले संयुक्तरूपमा कृति सार्वजनिक गरेका हुन।

कृति सार्वजनिक पश्चात् समीक्षा गर्दै समालोचक नेत्र न्यौपाने , साहित्यकार धीरकुमार श्रेष्ठ तथा कृसु क्षेत्रीले कवि फुयालका कवितामा पाईने सिर्जनशीलतालाई अझ परिष्कृत गर्दै साहित्य सिर्जनामा निरन्तरता दिन आवश्यक रहेको ‌औंल्याएका थिए। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा. डा. श्रीकृष्ण श्रेष्ठले 'अँजुलीमा थाप्न पाएँ' कृतिका लागि सर्जगलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए। 

सर्जगकी आमा मैया फुयालको सभाध्यक्षतामा आयोजित लोकार्पण कार्यक्रममा शब्दाङ्कुर मासिकका सम्पादक गोविन्द घिमिरेले स्वागत मनतव्य राखेका थिए भने संचालन टेकेन्द्रराज चेमजोङ्ले गरेका थिए।

कृति भित्र सामाजिक विकृति , विसंगति एवम् नेपालको ग्रामीण परिवेश र सामाजिक वस्तुस्थिति झल्काउने ३२ वटा कविता र ६९ वटा गित समावेश गरिएको सर्जग सागर फुयालले बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रकाशित मिति: : 2022-04-10 08:18:00

प्रतिकृया दिनुहोस्