युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालका लागि अर्जेन्टिनी राजदूत डा. ह्युगो जाभियर गोवीलाई नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव गरेका छन्।
मंगलबार भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री गहतराजले राजदूत गोवीलाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेका हुन्।राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा मन्त्री र राजदूतबीच दुई देशबीचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो। भेटकै क्रममा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमत भएको मन्त्रालयले जानकारी दिएको छ।
दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री गहतराजले राजदूत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका हुन्।