‘सांसद धनबहादुर बुढाकै कारण डोल्पाकाे गठबन्धन धरापमा’

Breaknlinks
Breaknlinks

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोल्पामा सत्ता गठबन्धन दलहरूबीच तालमेल नहुने देखिएको छ।

सत्ता गठबन्धन दलहरूबीच सहमतिका लागि पटकपटक छलफल भएपनि सहमति भने अझै जुट्न सकेको छैन।

वैशाख २ गते बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो दाबी छाडेनन्। गठबन्धन नहुनुका पछाडि सबै दलकाे नेताका आ-आफ्नै स्वार्थ देखिन्छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन जोगाउन भन्दै केन्द्रमा दौडधुपमा व्यस्त रहेका बेला जिल्लामा उनैका नेताहरुले गठबन्धनलाई भाँड्न थालेका छन्।

केन्द्रमा मिलेर जानुपर्छ भन्दै नेताहरु बैठक बस्ने र जिल्लामा नेताहरुले आफ्नो स्वार्थ पुरा नहुने भएपछि पार्टीकै निर्णयविरुद्ध कदम चाल्ने गरेको देखिएको छ। यसकै उदाहरण डोल्पामा देखिएकाे छ।

प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाकै कारण डोल्पामा गठबन्धन हुन नसकेको केही नेताहरुले बताएका छन्। एमाले परित्याग गर्नुअघि अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र मानिने बुढा पद पाउनकै लागि एमाले छाडेर समाजवादीमा प्रवेश गरेकाे बताइन्छ।

बुढाले राजनीतिक पहुँच बलियो बनाउनकै लागि दाइ कर्ण बुढालाई मोटो रकम खर्चेर कांग्रेसको केन्द्रीय सदस्य बनाएकाे एक नेता बताउँछन्।

अहिले उनै दाइ र एमालेका जिल्ला अध्यक्ष भतिज शेरबहादुर बुढालाई मिलाएका कारण धनबहादुर गठबनधनको बाधक बनेकाे आरोप छ। बाहिर मिल्ने जस्तो कुरा गर्ने र भित्र मिल्न नदिने जस्ता कारणले डोल्पामा गठबन्धन धरापमा परेको नेताहरु बताउँछन्।

गठबन्धन बचाउन यसअघि बसेको बैठकका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सांसद बुढा माओवादीलाई सुरूदेखि नै पेल्ने पक्षमा देखिनुभएको छ।’

बुढाले माओवादीलाई जिल्लामा जगदुल्ला र मुड्केचुला गाउँपालिका अनि त्रिपुरासुन्दरीमा उपमेयर दिन सकिने कुरा राखेको र त्यसमा माओवादीले असहमति जनाएको पनि उनले बताए।

सुरूमा माओवादीका नेताहरूले ठुलीभेरीको मेयर पाए गठबन्धन गर्ने, नभए नगर्ने अडान राखेका थिए, तर त्यो असम्भव भएको अन्य पार्टीका नेताले बताए। माओवादीले डोल्पोबुद्द गाउँपालिकासहित मुड्केचुला र जगदुल्ला दिनुपर्ने अडान राखेका थिए, तर धनबहादुर बुढाले डोल्पोबुद्द दिन नसकिने अडान नछोडेपछि सहमति हुन सकेन।

बुढाले डोल्पोबुद्द समाजवादीले पाउनुपर्ने तर्क गरेका थिए, तर हाल डोल्पोबुद्दका गाउँपालिका अध्यक्षसहित अधिकांश जनप्रतिनिधि र जनता माओवादीमा छन्। त्यसैले समाजवादीका मान्छे नै नभएको ठाउँमा पार्टीले पाउनुपर्छ भन्नु अमिल्दो कुरा भएको अन्य पार्टीका नेताहरू बताउँछन्।

ठुलीभेरीको विषयमा समाजवादीभित्रै व्यापक मतभेत छ। विशेषगरी जिल्लाको ठुलीभेरी नगरपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकाे दाबी छ।

आफूले भनेको जस्तो नहुने भएपछि बुढाले नै दलका नेताहरुलाई उचालेर गठबन्धन भाँडेको आरोप लाग्दै आएको छ। गठबन्धनकाे बाधक बनेकाे आरोप लागेका बुढासंग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन्। कुनैबेला केपी ओलीको विश्वास पात्र मानिने सांसद धनबहादुर बुढा अहिले माधव नेपालको विश्वास पात्रका रुपमा परिचित छन्।

जिल्लामा पाउने ठेक्कापट्टा र राजनीतिक पकड बलियो बनाउन जस्तोसुकै हतकण्डा अपनाउने बुढा पछिल्लो समय सत्तामा रहनकै लागि केपी ओली छाडेर माधव नेपालको पार्टीमा प्रवेश गरेकाे आराेप छ।

प्रकाशित मिति: : 2022-04-18 21:24:00

प्रतिकृया दिनुहोस्