घोषणापत्रमा एमालेको प्रतिबद्धता : विपन्न परिवारलाई विद्युत निशुल्क 

नेकपा एमालेले विपन्न परिवारलाई घरायशी प्रयोगको लागि विद्युत निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

एमालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिबद्धता जनाएको हो।

‘प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलब्ध गराउने। विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत निशुल्क उपलब्ध गराउने,’ एमालेको घोषणापत्रमा उल्लेख छ।

विद्युत उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय बृद्धि र पर्यावरण संरक्षण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ।

‘ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक कानूनी र संरचनात्मक प्रबन्ध गर्ने। नेपाल विद्युत प्राधीकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्ने,’ घोषणापत्रमा भनिएको छ।

पालिकामा सञ्चालित जलविद्युत आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने पनि एमालेले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-22 15:41:00

प्रतिकृया दिनुहोस्