माओवादी कार्यकर्ताद्वारा ‘एमाले-कांग्रेस’ गठबन्धनका उम्मेदवारमाथि आक्रमण

बिएल संवाददाता

माडी, राेल्पा

राेल्पाको माडी गाउँपालिकामा 'एमाले-कांग्रेस' गठबन्धनका उम्मेदवारमाथि आक्रमण भएको छ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य हरिप्रसाद घर्तीको अगुवाइमा वडाध्यक्षका उम्मेदवार निमबहादुर डाँगीमाथि आक्रमण भएको स्थानीयले बताएका छन्।

माडी गाउँपालिका–३ तालाबाङका 'एमाले-कांग्रेस' गठबन्धनका वडाध्यक्ष उम्मेदवार डाँगीमाथि समाजवादीका नेताकाे याेजनामा माओवादीनिकट वाइसीएलले आक्रमण गरेको बताइएको छ।

चुनावी प्रचार–प्रसार सम्पन्न गरेर घर फर्कदै गर्दा माओवादी कार्यकर्ताले आफूमाथि आक्रमण गरेको उम्मेदवार डाँगीले बताएका छन्। तालावाङमा बुधबार कांग्रेस र एमालेले संयुक्त चुनावी सभा आयोजना गरेका थिए। प्रमुख वक्ता थिए, एमालेका प्रेम घर्ती र कांग्रेसका गोपाल घर्ती। 

वाइसीएलले प्रहार गरेको ढुँगा र लाठीले डाँगीकाे टाउकाेमा गम्भीर चाेट लागेको छ। उनलाई थप उपचारका लागि दाङ लगिएकाे छ।

वाइसीएलले घरछेउमा उम्मेदवारमाथि आक्रमण गरेपछि स्थानीयले जनाएका छन्। लगतै स्थानीयवासीले प्रतिकार गर्दा २०–२५ जनाकाे संख्यामा त्यहाँ पुगेका वाइसीएल भागेकाे बताइएकाे छ। स्राेतका अनुसार कतिययलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

माओवादी र एसका नेताहरूले अर्को वडाबाट वाइसीएलका कार्यकर्ताहरू बोलाएर आक्रमण गराएको एमाले–कांग्रेका नेताले दाबी गरेका छन्।

प्रकाशित मिति: : 2022-05-05 09:28:00

प्रतिकृया दिनुहोस्