कान्छी उपमेयरकी प्रत्याशी आस्था : जो २० वर्षको उमेरमै ३ पटक जेल बसिन्

Breaknlinks
Breaknlinks

नेता भनेकै सेतै कपाल फुलेका। उमेरले ६ दशक पार गरेका वा कोही टेक्दै गरेका हजुरबुवा पुस्ताका हुन्छन्। राजनीति र यसलाई डोहोर्‍याउने व्यक्तिबारे सबैको मस्तिष्कमा झट्ट आइ हाल्ने चित्र यस्तै हुन्छ।

स्याङ्जाको पुतलीबजारबासीले यसअघि पनि चुनावमा भोट माग्दै आफ्नो घरदैलोसम्म आउने यस्ता नेता नदेखेका होइनन्। तर, यसपालि फरक अनुहार देखे। भर्खर २३ मा हिँड्दै गरेकी आस्था नेपाली पुतलीबजार नगरपालिका उपमेयर पदका लागि भोट माग्दै घरदैलो गरिरहेकी थिइन्।

आस्थाले मत माग्दै भन्दै थिइन्,‘ल है, अग्रजलाई सम्मान, युवालाई मतदान गर्नुहोला...’

आस्था मत माग्दै घरदैलोमा आएको देख्दा धेरै त दङ्गै परे।

०००

पुतलीबजार नगरपालिका हाँक्न आँटेकी आस्था गण्डकी  प्रदेशकै कान्छी उम्मेदवार हुन्। २०७२ सालदेखि राजनीतिम सक्रिय रुपमा लागेकी आस्था जनता समाजवादी पार्टीबाट पुतलीबजार नगरपालिकाको उम्मेदवार बनेकी हुन्।

चुनावी महासंग्राममा होमिएकी आस्थालाई हामीले सोध्यौं:-

जिम्मेवारीमुक्त भएर खुल्ला आकाशमा हावा खाँदै उडान भर्ने बेला राजनीतिमा किन ?

चुनावी घरदैलोमा व्यस्त आस्था युवा पुस्ताको राजनीतिप्रतिको वितृष्णा हटाउन आफू राजनीतिमा लागेको बताउँछिन्। ‘प्लस टु पढ्दा मैले मेरो पोलिटिकल करिअर सुरु गरे। सुरुम म जोडिँदा नेपाल कम्युनिष्ट पार्टी माओवादी थियो। ८औं महाधिवेशनपछि नेपाल कम्युनिष्ट पार्टी भयो,’ भन्छिन्, ‘पार्टीको विद्यार्थीको सदस्यता लिएर सुरु गरेको थिएँ। आज म जनतासमाजवादी पार्टीको स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाको उपमेयरको उम्मेदवार छु।’

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन हुँदै राजनीतिमा लागेकी आस्था, जिल्लाको कोषाध्यक्ष, उपाध्यक्ष सचिव पनि भइन्। बिचमा विप्लव नेतृत्वको पार्टी प्रतिबन्धित भयो।

नेताहरु लगालग समातिइरहेका थिए। त्यतिबेला आस्था जिल्लाको उपाध्यक्ष थिइन्। उनी पनि कहीँ न कहीँ एक्सपोज हुनु पर्थ्याे। विज्ञप्तिबाजी गर्न पर्थ्याे। बाहिर संयुक्त विद्यार्थी संगठनको पहल कदमी लिनु पर्थ्याे। पार्टी प्रतिबन्ध भएको बेलामा राज्यले जसरी पनि एरेस्ट गरी हाल्छ भन्ने कुरा माइन्डमा सेट गरिसकेकी थिइन्, आस्थाले। ‘एरेस्ट हुन्छु भन्नेमा त कुनै दुविधा नै थिएन। कहिले कहाँबाट हुन्छु भन्ने मात्रै थियो,’ आस्थाले सुनाइन्।

पार्टी प्रतिबन्धित भएकै अवस्थामा आस्था पनि पक्राउ परिन्। ‘राज्य द्रोहको मुद्दा लगाउँदा म जम्मा २० वर्षको थिएँ। एक पटक घरैबाट पक्राउ परेँ। दोस्रो चोटी घान्द्रुकमा बैठक गर्दै थियौं, १८ जना साथीहरु एकैचोटी पक्राउ पर्‍यौं। तेस्रो चोटी फेरि स्याङ्जाबाटै पक्राउ परें,’ उनले सुनाइन्।

आस्थालाई पक्राउ गर्न बिहान ७ बजे प्रहरी घरमै पुगेको रहेछ। घरको मान्छेलाई सुरुमा थाहा थिएन। आमा हुनुहुन्थ्यो घरमा। प्रहरीले सोधपुच्छका लागि लिन आएको, सोधपुच्छ गरेर बेलुका घर पठाइदिन्छौं भनेर भनेका थिए रे !

‘मलाई त थाहा थियो, म कुनै न कुनै बेला एरेस्ट हुन्छु। प्रहरी प्रशासनले झुठ बोल्नुभयो। ममिले के भन्नुभयो भने अहिले लिएर जानु। तर, बेलुका घर पठाइदिनु है। त्यसरी भन्नु भयो,’ यति भनि सुनाइ रहँदा आस्था भावुक देखिइन्,‘मैले के भने भने, हाम्रो पार्टी प्रतिबन्धित छ। हामीलाई बाहिर खुला रुपले हिँड्न पाउँदैनौं। उहाँहरुले सोधपुच्छ गरेर छोड्ने भने पनि मुद्दा चल्छ।’

आमालाई १० बजे जिल्ला प्रहरी कार्यालयमा बोलाइन्। २५ दिनसम्म छोड्दैनन् भन्नेमा आस्था ढुक्क थिइन्। आस्थाका मामाहरु रहेछन्, एमाले। पार्टी छोड्न पटकपटक दबाब पनि दिए। तर, आस्थाले मानिनन्।

‘हामी युवाले सोसल चेञ्ज गर्नपर्छ। महिला, समाज, गरीब, लैंगिक अल्पसंख्यकबारे बोल्नै पर्थ्याे। एउटा प्रेसर थियो। मैले त्यसलाई झेलेर बसे। १७, १८ दिनपछि जिल्ला अदालतले धरौटी केही नलिई तारिखमा रिहा गरेको थियो,’ आस्थाले आफ्नो जेल अनुभव सुनाइन्।

दोस्रो चोटी जिल्ला कमिटीको बैठक घान्द्रुकमा बस्दा एकैचोटी १८ जनालाई पक्राउ गरेको थियो। आस्था पनि पक्राउ परिन्। तेस्रो चोटी हजुरबुवा बितेर घर जाँदा स्याङ्जाबाटै पक्राउ गर्‍यो।

जेलनेलको अनुभव संगालेकी आस्था हिम्मत हार्नेवाला थिइनन्। प्रहरीले पटक–पटक पक्राउ गर्दा पनि उनले आफ्नो अडान छाडिनन्।

०००

आस्था त राजनीतिमा थिइन् नै !

उनका साथीहरु पनि राजनीति र देशप्रति चिन्तित थिए।

पार्टी नै प्रतिबन्धित भएर लोकतन्त्रमा कस्तो खालको आन्दोलन गर्ने ? अब युवाहरुले शान्तिपूर्ण आन्दोलन गरेर समाज परिवर्तन किन नगर्ने ?

छलफलको निश्कर्ष निस्कियो। आस्थालाई पनि ठिकै हो भन्ने लाग्यो। ‘त्यताबाट समाज परिवर्तन हुने देखिनँ। युवाहरुको सर्कल थियो। साथीहरुसँग बस्दा उनीहरुलाई कस्तो फिल थियो भने विद्रोह गर्नुपर्छ। तर, त्यही पुरानो शैलीबाट विद्रोह गरेर सम्भव छैन,’ विप्लव नेतृत्वको पार्टी छोड्नुको कारण प्रष्ट्याउँदै उनले भनिन्, ‘शान्तिपूर्ण तरिकाले आन्दोलन गरेर पनि परिवर्तन ल्याउन सकिन्छ भनेर साथी–भाइले बस्दा कुरा आयो। मैले त्यो कुरालाई महसुस गरे।’

आस्था जनता समाजवादीको प्रदेश कार्यालयको सचिव हुन्। सँगसँगै पुतलीबजार नगरपालिकाको उपमेयर पदकी प्रत्याशी पनि।

विप्लव नेतृत्वको पार्टी अहिले दुई टुक्रा भइसक्यो। आस्थालाई सही समयमा सही निर्णय लिएको रहेछु, भन्ने लाग्छ रे ! ‘कहाँ जाने भन्ने कुरा पनि थाहा छैन। मैले राम्रो निर्णय लिएको रहेछु। साथीहरुको सुझाव मैले राम्रो समयमा लिएँ। ठूलो पार्टीमा किन नगएको भन्ने पनि आउला। तर, उनीहरु भित्रै विवाद छ। युवाहरुलाई कसरी समेट्ने ?’ उनले सुनाइन्।

ठूला भनिएका पार्टीमा युवाहरुलाई ठाउँ नै नभएको बताउँछिन्, आस्था। त्यसकारण पनि पूरानो र ठूलो पार्टीप्रति वितृष्णा जाँगेको आस्थाको ठम्याई छ। ‘राजनीतिमा भएका युवाले पनि नेतृत्वबाट कम अपेक्षा गरेका छन्। म पनि त्यही कम गर्ने मध्यमा हुँ,’ उनले सुनाइन्।

जनतासमाजवादी पार्टीले हिमाल, पहाड, तराई जोड्ने कुरा गरेको छ। सिमान्तकृत, दलित, मधेसभित्रको पनि दलित, दलित भित्रको पनि महिला, डुम र मुसहरको अधिकारको कुरा पनि गरेको छ। यसकारण पनि आस्थालाई जनतासमाजवादी पार्टी मन परेको रे !

पुतलीबजार नगरपालिकाकी उपमेयरकी प्रत्याशी आस्थाले चुनाव जितेपछि घरेलु हिंसामा परेका महिला साथै पिछडिएका समुदायको उत्थान र शिक्षा, स्वास्थ्यमा काम गर्ने योजना बनाएकी छिन्। ‘समग्र देशकै जेनुअन इस्यु हो। पुतलीबजार स्याङ्जाको ठूलो नगरपालिका हो। आज पनि त्यहाँका स्थानीयले शिक्षा राम्रो पाएका छैनन्। स्वास्थ्य राम्रो पाएका छैनन्। घरेलु हिंसा भइरहेको छ। यो चाहिँ मैले हल गर्छु,’ उनले भनिन्।

प्रकाशित मिति: : 2022-05-07 10:30:00

प्रतिकृया दिनुहोस्