नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा धाँधली भएको सहभागी खेलाडीले आरोप लगाएका छन्।
शनिबार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजेता गराउन आयोजक नेपाल व्यायामले निर्णायकको निर्णय नै हेरफेर गर्ने र खेलाडीप्रति अपहेलित व्यवहार भएको बताएका हुन्।
‘आयोजकले आफ्नो खेलाडीलाई उपाधि दिलाउन हामीलाई समेत अपहेलित गरियो,’ पत्रकार सम्मेलनमा उपस्थित खेलाडी अनुज मास्केले भने।
आयोजकले सधैँ खेलाडीलाई अपहेलित गरेको र त्यसैकारण आफूहरू मुख खोल्न बाध्य भएको खेलाडी सागर विकले भने। ‘आयोजकबाट हामी सधैँ अपहेलित हुन्छौँ। त्यसैले आगामी पुस्तालाई यस्तो नहोस् भनेर पत्रकार सम्मेलन गरेका हौं,’ विकले पत्रकार सम्मेलन गर्नुको उद्देश्य बताए। सागर वेलायतबाट सहभागी हुन नेपाल आएका थिए।
पत्रकार सम्मेलनमा गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायतको सहभागिता थियो।
महिला सहभागी खेलाडी सनमले प्रतियोगिता व्यवस्थित नभएको र खेलाडी सधैँ अपहेलित हुनु परेको बताइन्।
‘मैले बारम्बार आयोजकसग बुझ्ने प्रयास गरेँ। तर, हामीले प्रतिस्पर्धामा लगाउने पोशाकसमेत कुन भन्ने थाहा पाउन सकेनौं,’ सनमले आरोप लगाइन्। सहभागी प्रतिस्पर्धीले उपाधि दावेदारलाई शीर्ष १५ बाटै बाहिर राखेर आयोजकले आफू अनुकूललाई च्याम्पियन बनाएकोसमेत आरोप लगाए।
शनिबार भएको प्रतियोगितामा झापाका उमेश राईले १६औं धर्मश्रीको उपाधि जितेका थिए। एनआरके फिटनेशका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरे। धिमाल दोस्रो हुँदा कृष्णबहादुर सूर्यवंशी तेस्रो भए। दुबैले क्रमशः पाँच लाख र दुई लाख रुपैयाँ पाए।
यस्तै धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुषतर्फ आयोजक नेपाल व्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ द फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामा विजयी भए। विजयी दुबैले दुई लाख प्राप्त गरे।