नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रले मतदाता समक्ष आफूलाई जिताउन लिखित अपिल गरेका छन्। ४० सालदेखि राजनीतिमा लागेका मिश्रले नेपालगञ्जलाई शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटनको हब बनाउँदै समृद्ध नेपालगञ्ज निर्माण गर्ने अठोट लिएका छन्।
नेपालगञ्जको विकासमा बिभिन्न पदमा रहेर काम गर्दै आएका मिश्रले मेयरको रुपमा नेपालगञ्जको समग्र विकासमा टेवा पुर्याउने प्रतिवद्धता गरे। राजनीतिक शास्त्रमा एमएसम्मको अध्ययन गरेका मिश्र २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्ष बनेका थिए। गाविस अध्यक्ष हुँदा हिरमिनियाको विकासमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनले गाविस महासंघको अध्यक्ष, जिल्ला विकास समितिको सभापति पदमा रहेर काम गरेको अनुभव संगालेका मिश्रले २०५४ सादमा बगौडाको विकासका लागि सडक र सामुदायीक बिद्युतीकरणको अवधारणासहित ५० लाख बजेट बिनियोजनमा सक्रिय रहनुका साथै २०६३ सालमा जिविस सभापति हुँदा परसरपुर–गौघाट सडक, चौलिका–हिरमिनिया–होलिया सडक, सम्झानाचोक–कोहलपुर सडकको डिजाइन स्टिमेट र सम्झौता गरेका थिए।
मिश्रले भारतले बन्द गरेको सिक्टा सिंचाई परियोजना सूचारु गर्न पहल गरी ९० करोड बजेट बिनियोजन गर्न लगाएको, धम्वोझी स्कुलको हालको भवन निर्माणको प्रस्तावना स्टिमेट, टेण्डर र शिलान्यास, भेरी अस्पतालको आकस्मिक कक्षको डिजाइन र स्टिमेट समेत जिविस महासंघको अध्यक्ष गराएका थिए।
सोही समयमा पशुपति शिक्षा मन्दिर भवन, भेरी बृद्धाश्रम भवन, महेन्द्र पुस्तकालयको दोस्रो सभाकक्षको निर्माण गराएका थिए। जिविसमा छोटो समय रहँदा पनि विकास गर्ने चाहाना भएमा यतिधेरै काम गर्न सकिने रहेछ भन्ने मिश्रले उदाहरण दिएका थिए।
मिश्रले नेपालगञ्ज विश्वबिद्यालयको अभियान, उच्च अदालत नेपालगञ्जमा राख्न अगुवाई गरेको फलस्वरुप उच्च अदालत नेपालगञ्ज इजलासको स्थापना भएको, नेपालगञ्ज एयरपोर्टलाई अन्र्तराष्टिय स्तरको बनाउन पहल गरेको, विशेष आर्थिक क्षेत्रको परिकल्पनासहित सर्वे भएर माष्टर प्लान तयार गर्न मिश्रको अहम भूमिका थियो।
एशियाली विकास बैंकको परियोजना ल्याउन ज–जसले जे भन्ने गरेपनि ल्याण्डफिल साईटका लागि जग्गा खरिद गर्न समस्या परेको अवस्थामा मिश्रले पहल गरेर जिविसले सोधभर्ना सापटीको व्यवस्था गरी उक्त परियोजनाको कार्यालय जिविसमै राखि काम अघि बढाएको थियो।
‘चुनावी अभियानको क्रममा तपाईंहरु सबैको घरदैलोमा प्रत्यक्ष भेट गरी आर्शिवाद लिने तिब्र इच्छा हुँदाहुँदै २३ वटै वडाहरुमा पुग्नुपर्ने बाध्यताले समय अभाव भई आउन नसकेकोमा दुखित छु,’ मिश्रको अपिलमा भनिएको छ,‘निर्वाचन पश्चात आउने वाचा गर्दै बिगतमा अज्ञानताबस मबाट कुनै कमी कमजोरी भएको वा कसैको चित्त दुखाउने काम भएको भए सोका लागि मानवीय कमजोरी ठानी क्षमा गर्न हुन र वैशाख ३० गते हुने निर्वाचनमा म सहित उपमेयर पदका उम्मेदवार शान्ति ढकाल र २३ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुसहित सम्पूर्ण टिमलाई बिजयी गराउन बिनम्रतापूर्वक अनुरोध गर्दै पाँच वर्षमा नेपालगञ्जलाई समृद्ध नेपालगञ्जको बाटोमा लैजाने प्रण गर्दछु।’
मिश्रको मनछुने अपिलमा,‘तपाईको मत र भावनाको सम्मान गर्दछु, मलाई जिताउनुस्,’ भनिएको छ।