जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन्।
यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन्।
यस स्थलमा चार मतदान केन्द्र छ। यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए।
यस मतदानस्थलमा तीन हजार ३४२ मतदाता छन्। उनका अनुसार ४५१ केन्द्रमध्ये ८१ केन्द्रमा महिला अधिकृत खटिएका हुन्।
महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उनीहरुलाई जिम्मेवारी दिइएको उनले बताए।
जिल्लामा रहेका दुई मतदान केन्द्रमा ५०० भन्दा कम मतदाता छन्। इच्छाकामना गाउँपालिकाका दुई केन्द्रमा ५०० भन्दा कम मतदाता हुन्।
ती मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटिएको र अन्य केन्द्रहरुमा पाँच जनाका दरले कर्मचारी खटिएको उनले जानकारी दिए।
उनका अनुसार मतदान अधिकृतले मतदानस्थलमा तीनजना स्वयम्सेवक कर्मचारी नियुक्ति गरी आजदेखि निर्वाचनको काम सुरु गरेका छन्।
निर्वाचनको कामअन्तर्गत आज मतदानस्थलभन्दा तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणीत गर्ने, सर्बदलिय बैठक राख्ने, मतदाता परिचयपत्र वितरण गर्ने, निर्वाचन शिक्षा दिने लगायतका कामहरु भइरहेको उनले बताए।
जिल्लाभर तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन्। जसमध्ये दुई लाख चार हजार ६६६ महिला, एक लाख ९३ हजार १८ पुरुष र एकजना तेस्रो लिङ्गी छन्।
कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता छन्।