पोखरेली मतदाता भन्छन् : काम गर्ने मान्छे छानेर भोट दियौं

Breaknlinks
Breaknlinks

२०७९ सालको स्थानीय तह निर्वाचनमा देशभर मतदान जारी छ। स्थानीय तहका जनप्रतिनिधि छान्न दैनिक काम थाति राखेर मत हाल्न मतदान केन्द्रमा लामबद्ध छन्, मतदाता।

स्थानीय तह निर्वाचनमा पोखरामा पनि मतदान भइरहेको छ। चर्को घामको कुनै परबाह नगरी मत खसाइरहेका छन्। घर नजिकको सरकार चुन्नु जो छ। पोखरा– ५ को बाराही मा.विको मतदान केन्द्रमा मत खसालेका मतदाता दिनानाथ बराल(६३) भर्खरै मत खसालेर मतदानकेन्द्रबाट निस्किँदै थिए। हामीले भेटी हाल्यौं।

‘कस्तो जनप्रतिनिधि चुन्नु हुन्छ यसपाली ?,’ हामीले सोध्यौं।

६३ वर्षीय बराल पेसाले किसान रहेछन्। ३६ सालदेखि मतदान गर्दै आइरहेका बरालले पार्टीभन्दा पनि आफूलाई मनपर्ने जनप्रतिनिधि चुनेर मत खसालेको बताए।

‘पार्टी हेरिएन, जो काम गर्ने जस्तो छ। त्यही हेरियो। काम गर्ने मान्छे हो। जुन पार्टी भए पनि काम गर्ने मान्छेलाई दिने हो। हिजो के गरेको थियो आज के गर्दै छ। भोलि के गर्दै छ हेर्ने हो,’ उनले भने।

अघिल्लो जनप्रतिनिधिको कार्यकाल उनलाई त्यति चित्त परेको रहेनछ। ५ वर्षे कार्यकालमा पक्षपाती विकास गरेको उनी बताउँछन्। ‘धारापानी मार्ग यस्तो भयो। जरेबर मार्ग पनि भएको छैन। सबैलाई भनेका छौं। वडाबाट ५ करोड निकासा भयो भनेर ढाँटे। आखिरमा रहेन छ। अर्को चुनाव आइसक्यो। सकियो। त्यो काम बाँकी रह्यो,’ उनले सुनाए।

अब आउने जनप्रतिनिधिले पक्षपात नगरी विकास गरे पुग्ने उनी बताउँछन्। पार्टीभन्दा पनि योग्य व्यक्तिलाई चुन्न मतदानमा सहभागी भएको उनले बताए। प्रतिनिधि सभा चुनावमा पार्टीले जिते पनि स्थानीय तहमा काम गर्ने व्यक्तिले जित्नुपर्ने उनको भनाइ छ।

६३ वर्षीय बरालको घरबाट ४ भोट थियो। छोरीको केही हप्ताअघि बिहेबारी गरेर अन्माएकाले उनी भोट खसाउन आउन नपाएको उनले सुनँए। बरालले ८२ वर्षीय आमा सावित्री बराललाई पनि मतदान केन्द्रमा लगेका थिए। आमालाई भोट हाल्न उनले नै सहयोग गरे। आमाले इच्छाएको व्यक्तिलाई नै मतदान गरेको उनले सुनाए। ‘आमालाई जहाँ भन्नु हुन्छ। त्यही भोट हाल्नु भयो। आमाले जहाँ दिन भन्नुभयो। छाप दिने ठाउँमा पनि सोधेर छाप लगाई दियौं,’ उनले सुनाए।

खरा १८ सीमाना मार्गकी तुलसी पराजुलीले काम गर्ने मतदान चुन्न मतदानमा सहभागी भएको बताइन्। पोखरा १८ जामुनबोटको रत्न मा.विमा भोट खसाल्न आएकी ४५ वर्षीया पराजुलीले ५ वर्षअघि चुनेर पठाएको प्रतिनिधिले जनअपेक्षाअनुसार काम नगरेको बताउँछिन्। ‘आफ्नो ठाउँमा मात्रै काम गरे। अर्को भेगमा कुनै बेवास्ता भयो। आफ्नो ठाउँमा बाटोघाटो सलल पार्नुभयो, कम मत आएको ठाउँमा कुनै वास्ता नै गर्नुभएन,’ उनले भनिन्।

अहिलेको चुनावमा पार्टीभन्दा पनि काम गर्ने व्यक्ति हेरेर मत दिएको उनले बताइन्। ‘व्यक्ति हेरेका छौं। सबैले। हामीलाई विश्वास छ। हाम्रो मत खेर जाने छैन। काम नगरे अर्को पटक देखाउँछौं,’ उनले भनिन्।

उनको घरमा ४ मतदाता छन्। छोरा विदेशमा रहेकाले एक भोट कम खस्ने उनले सुनाइन्।

पोखरा– १८ ग्यारग्यादीकी ५७ पनिमाया थापा अघिल्लो महिना सिढीबाट लडेर घाइते भएकी थिइन्। अझैं पनि उनको शरीर पूर्ण रुपमा निको भएको छैन। वैशाखिको सहारा लिएर मत खसाल्न आइपुगेकी थापाले काम गर्ने जनप्रतिनिधि चुन्न आफू मतदान स्थल आएको बताइन्। ‘अर्को वर्ष बाँच्छु कि मर्छु एक भोट हालौं भनेर आएको हो,’ उनले भनिन्।

‘यस्तो दुख गरेर भोट दिन आउनु भाछ, चुनाव जितेर आउने जनप्रतिनिधिसँग तपाईंको माग के छ ?,’ हामीले सोध्यौं। उनले भनिन्,‘पानी भए अरु केही पनि चाहिने थिएन। पानीको एकदम दुख छ के।’

उनले पार्टीभन्दा पनि काम गर्ने व्यक्ति हेरेर इच्छाएको व्यक्तिलाई भोट हाल्ने बताइन्।

पोखरा– १८ कै ८० वर्षीय रामबहादुर ढकालले काम गर्ने जनप्रतिनिधि हेरेर मतदान गरेको बताउँछन्। सराङकोट ढकालथरका ८० वर्षीय ढकालले आफ्नो जीवनकालमा धेरैपटक मतदान गरिसकेँ। कतिपटक मतदान गरे भन्ने नै उनलाई हेक्का छैन। ‘धेरै पल्ट भोट हाले। कति हाले भन्ने नै याद छैन,’ उनले भने।

‘अहिले संघीयता आइसकेपछि जनप्रतिनिधिले कस्तो काम गरे ?,’ हामीले सोध्यौं। गएको ५ वर्षमा जनप्रतिनिधिले आफ्नो दुनो सोझ्याउने काम मात्र गरेको उनको आरोप छ। ‘खास आफ्नो दुनो सोझ्याए। जनतालाई मलाई भोट जिताएर यति भाती गरे जनताले भनेर भनेन्। आफ्नो मतलब निकाले। अहिले पनि त्यस्तै त हुने होला,’ उनले भने।

कास्कीमा अहिले मतदान जारी छ।

प्रकाशित मिति: : 2022-05-13 22:30:00

प्रतिकृया दिनुहोस्