प्रतिस्पर्धी साथी: चौधरी दोस्रो पटक मेयरमा जित्दा, उपमेयरमा पनि हारे डाँगी 

नरुलाल चौधरी र भुपबहादुर डाँगी
नरुलाल चौधरी र भुपबहादुर डाँगी

नरुलाल चौधरी र भुपबहादुर डाँगी ०७४ सालको निर्वाचनमा एक–अर्कोको प्रतिस्पर्धी साथी थिए। दुबै जना घोराही उपमहानगरपालिकाको नेतृत्व पाउन चुनावमा होमिए। चुनावको नियमअनुसार एकले जित्नु पर्ने थियो, एकले हार्नु पर्ने।

जनताले चौधरीलाई घोराहीको नेतृत्व गर्न पठाए। उनले जिते, डाँगी हारे। ५ हजार मतान्तरले ०७४ को निर्वाचनमा चौधरीसँग डाँगीले हारेका थिए।

चुनावमा हार बेहोर्नु परेको भएपनि पनि डाँगीले हार मानेका थिएनन्। उनी फेरि घोराहीको नेतृत्व गर्न चुनावमा होमिने तयारी चुनाव अघि नै गरिरहेका थिए। चुनाव आउन पाँच महिना पहिले नै घोराहीको मेयरका लागि उठ्ने बताएका थिए डाँगी।

उनले सोहि अनुसार तयारी पनि गरे। दाङको घोराही उपमहानगरपालिका देशकै ठूलो उपमहानगरपालिका पनि हो। जसको नेतृत्व गर्न पाउनु चानचुने कुरा होइन। ३० बैशाखमा निर्वाचनको मिति घोषणा भइसके पनि मेयरमा उठ्ने गरी डाँगीले चुनावी चहलपहल गरिरहे।

०७४ मा चौधरीसँग हार्नुका पछाडि पार्टीत्रिको अन्तरघात भनेर पार्टीकै निश्कर्ष थियो। यस पटक भने एकढिक्का हुने र मेयर जित्ने प्रायसमा थिए डाँगी। उनी स्वयंले विगतमा पार्टीभित्र भएको घातबारे समिक्षा गर्दै यसपटक घात नहुने र मेयर आफूहरुले जित्ने बताएका थिए।

यता, माओवादीसहित अन्य दलसँग चुनावी तालमेल हुने भएपछि गठबन्धन तर्फबाट मेयरको टिकट लिन दौडधुप पनि बढाए डाँगी।

उनले अन्तिमसम्म पनि मेयरको टिकटका लागि प्रत्यन्न गरे। तर केन्द्रबाट भएको गठबन्धन दलको निर्णय पछि मेयरको पद माओवादी र उपमेयरको पद कांग्रेसको भाग पर्यो। त्यसपछि मेयर लडिसकेको व्यक्ति पनि उपमेयरमा लड्नका लागि चित्त बुझाए र गठबन्धनबाट चुनावमा उठे।

विगतमा एक्लै चुनाव लड्डा हार्नु परे पनि भुपबहादुरलाई यसपाली माओवादीसहित तीन दलको साथ थियो। त्यहीकारण पनि चुनाव जितिन्छ भन्नेमा डाँगीसहित गठबन्धनका दलहरु ढुक्क थिए। त्यसमाथि उपमेयरमा भुपबहादुर सजिलै जित्ने आँकालन थियो।

तर, दुभार्ग चुनावको पासा गठबन्धनलाई परेन। एमालेले प्रमुख र उपप्रमुख दुबैमा जित निकाल्यो। यसपटकको चुनावमा गठबन्धनको साथ हुँदै हुदै डाँगी पुनः उपमेयरमा झरेर लड्दा पनि पराजय हुन पुगे, त्यो पनि झिनो मतको अन्तरले। उनी एमालेकी उपमेयर पदकी उम्मेदवार हुमा डिसीसँग ४९ मतअन्तरले पराजय भए।

यसपटकको चुनाव गठबन्धन दलको साथ हुँदाहुँदै पनि पराजित हुनुले कांग्रेसभित्र पुनः अन्तरघात भएको नेताहरु बताउँछन्। भुपबहादुर डाँगी मेयर र उपमेयरमा मात्र हारेनन्, पार्टीको १४औँ महाधिवेशनमा जिल्ला सभापतिका लागि चुनावी मैदानमा लड्दा पनि हार बेहोरेका थिए। ०७४ मा मेयरको चुनाव लड्दा क्षेत्र नं २ को सभापति थिए डाँगी।

१४औँ महाधिवेशनबाट जिल्लाको सभापतिका लागि चुनावमा होमिए पनि उनी शंकर डाँगीसँग पराजय भए। प्रतिस्पर्धी साथी डाँगी हारिरहँदा नरुलाल भने दोस्रो कार्यकालका लागि घोराहीको मेयर पदमा विजयी भएका छन्।

०७४ को निर्वाचनमा डाँगीलाई हराउँदै चौधरी मेयर भए भने अहिले गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा डायमण्डलाई हराउँदै फेरि मेयरमा विजयी भए।

गठबन्धनबाट माओवादी केन्द्रका शर्मालाई उनले ५ हजार ३६० मतले हराउँदै ०७४ को सालको एमालेको विरासत जोगाए। यसरी एउटै व्यक्तिले कुनै क्षेत्रको पटक–पटक नेतृत्व गर्ने अवसर कमैले पाउँछन्। ती मध्ये चौधरीले घोराहीको नेतृत्व गर्ने अवसर फेरि पाएका छन्।

यस अर्थमा पनि भाग्यशाली पात्र हुन् चौधरी, जसले स्थानीय सरकारको १० वर्ष कार्याकाल हाक्ने अवसर समेत पाए, त्यो पनि मुलुककै ठूलो उपमहानगरको। उनले एमालेको वडा, गाउँ, क्षेत्र हुँदै दाङ जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। ०५४ सालमा उनी रामपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

हाल उनी एमालेको पोलिट व्यूरो सदस्य र दाङ जिल्ला ईन्चार्जको जिम्मेवारी छन्।

प्रकाशित मिति: : 2022-05-19 16:13:00

प्रतिकृया दिनुहोस्